प्रमिला खतिवडा
काठमाडौं, ९ असोज ।
नेपाल स्टक एक्सचेन्ज, नेप्सेमा वार्षिक विन्दुगत आधारमा १ दशमलव १ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैकको आर्थिक बर्ष २०७६- ७७ को प्रतिवेदन अनुसार नेप्सेमा सूचीकृत २१७ कम्पनीहरुको कारोबारको आधारमा भएको यो वृद्धिदर अत्यन्त कम हो । धितोपत्रको दोस्रो बजारमा पनि समग्रमा ह्रास आएको छ ।
राष्ट्र बैकले प्रकाशित वित्तिय विवरणअनुसार २०७५ साउन मसान्तमा १ हजार २ सय १० दशमलव ३ विन्दु रहेको नेप्से सुचकांक १ दशमलव १ प्रतिशतले बृद्धि भई २०७६ साउन मसान्तमा १ हजार २ सय २४ विन्दु कायम भएको छ । त्यसैगरी धितोपत्र बजार पुँजीकरण बार्षिक विन्दुगत आधारमा ७ दशमलव ७ प्रतिशतले बृद्धि भई २०७६ साउन मसान्तमा १ हजार ५ सय ५१ अर्ब ६० करोड कायम भएको छ ।
२०७६ असार मसान्तमा बजार पुँजीकरण १ हजार ५ सय ६७ अर्ब ५० करोड रहेको थियो । यता धितोपत्र बोर्ड भने प्राथमिक बजारमा उत्साहजनक सु्धार भएकोले सन्तोषजनक रुपमा लिनुपर्ने तर दोस्रो बजारमा अपेक्षाकृत रुपमा सुधार हुन नसकेको बताउनुहुन्छ ।
समग्र धितोपत्र बजारलाई नजिकबाट नियाल्दै आउनुभएका प्राध्यापक डाक्टर मनोहरकृष्ण श्रेष्ठ भने यसरी पुँजीकरणमा ह्रास आउनुमा सरकार तथा अर्थमन्त्रीको कार्य नै भएको बताउनुहुन्छ ।
बैक तथा वित्तिय संस्थामा व्याज तथा तरलताले गर्दा धितोपत्र बजार उकालो लाग्न सक्ने अवस्था रहेको छैन । तर पछिल्लो समयमा २ अर्बका कम्पनी ८ अर्बको भएकाले सकारात्मक मान्नुपर्न बोर्डको भनाईछ ।
नेपाल स्टक एक्सचेन्जमा सुचीकृत कम्पनीहरुको संख्या २०७६ साउन मसान्तमा २१७ रहेको छ । यस्ता कम्पनीहरुमध्ये १ सय ५४ वटा बैक तथा वित्तिय संस्था र बीमा कम्पनी रहेको छ । त्यसैगरी जलविधुत कम्पनी ३२ वटा, १९ वटा उत्पादन तथा प्रशोधन उधोग, ४ वटा होटल, ४ वटा व्यापारीक संस्था र ४ वटा अन्य समूहका रहेका छन् ।
सुचीकृत कम्पनीहरुमध्ये बैंक तथा वित्तिय संस्थाहरु र बीमा कम्पनीहरुको धितोपत्र बजार पूजीकरणमा ७७ दशमलव ९ प्रतिशत हिस्सा रहेको पनि राष्ट्र बैकले उल्लेख गरेको छ । जलविधुत कम्पनीहरुको हिस्सा ६ दशमलव ९ प्रतिशत, उधोग तथा प्रशोधन कम्पनीको हिस्सा ४ दशमलव १ प्रतिशत, त्यसैगरी होटलको हिस्सा १ दशमलव ७ प्रतिशत, व्यापारीक संस्थाको शुन्य दशमलव एक प्रतिशत र अन्य समूहको हिस्सा ९ दशमलव एक प्रतिशत रहकोछ ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २०७६ साउन मसान्तसम्ममा सूचीकृत ४ अर्ब ३४ करोड कित्ता शेयरको चुत्ता मूल्य ४ सय २५ अर्ब ५२ करोड रहेको छ ।




