काठमाडौं, ११ बैशाख । निकै लामो समय पछि नेपाल कम्युनिष्ट पार्टीले एकताको प्रक्रियालाई जिल्ला तहसम्म ल्याईपुर्याएको छ । जिल्ला तहसम्म पुग्दा पोलिटब्युरो गठन भएको छैन र त्यो भन्दा तल्लो कमिटिका कामहरु पनि बाँकी रहेका छन् । नेकपालाई एकताको प्रकियामा आइपुग्नको लागि निकै कठिनाई परेको थियो तर प्रक्रियामा आइसकेपछि पनि जिल्ला तहको अध्यक्ष र सचिव छानिरहदा अहिले थुप्रै प्रश्न उठिरहेका छन् । प्रश्न यस कारण पनि उठिरहेका छन् कि त्यही सभाकै बीचमा वरिष्ठ नेता माधव नेपाल उठेर हिडीदिए । जिल्ला तहको अध्यक्ष र सचिवको टुंगो लगाउदा पनि पदानुक्रम मिलाईएको देखिएको छैन । एक व्यक्ति एक पदको धारणा पनि देखिएको छैन । कसैलाई कामको भार कसैलाई जिम्मेवारी नै नभएको देखिएको छ । जिम्मेवारी दिने सवालमा यति ठूलो राजनीतिक दलको व्यवस्थापकीय कमजोरी किन देखियो ? ७७ जिल्लाको अध्यक्ष र सचिव चयन गर्दा जम्मा तीनजना मात्रै महिलालाई नेतृत्व दिईएको छ, जुन संविधानको विरुद्ध पनि हो । यो कुरालाई किन वास्ता गरिएन ? माधव नेपाल किन मञ्च छाडेर हिंडे ? जिल्ला कमिटी बन्दा स्थायी समितिमा किन बहश भएन ? सरकारको काम कति सन्तोषजनक छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेकपा स्थायी समिति सदस्य रघुजी पन्तसंग गरेको कुराकानी हेर्नुहोस् :




