काठमाडौं, ५ बैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा चेन्नई सुपर किंग्स पराजित भएको छ ।
कप्तान महेन्द्र सिंह धोनीलाई आराम दिइएको खेलमा चेन्नई सनराइजर्स हैदराबादसँग ६ विकेटले पराजित भएको हो । चेन्नईले प्रस्तुत गरेको १३३ रनको लक्ष्य घरेलु टोली हैदराबादले १६ ओभर पाँच बलमा चार विकेटको क्षतिमा भेट्टायो ।
हैदराबादका लागि जोनी बेयरस्टोले ४४ बलमा नटआउट ६१ तथा डेविड वार्नरले २५ बलमा ५० रन बनाए । चेन्नईका इमरान ताहिरले दुई विकेट लिए । फिटनेशका कारण धोनीलाई आराम दिइएको खेलमा पहिले ब्याटिङ्ग गरेको चेन्नईले पाँच विकेटको क्षतिमा १३२ रन बनाएको थियो ।