काठमाडौं, १३ चैत । मेलम्ची खानेपानी आयोजनाको काम छोडेर गएको इटालियन ठेकेदार कम्पनी सिएससीले सरकारसँग क्षतिपूर्ति वापत २ अर्व ५२ करोड रकम माग गरेको छ ।
संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबारको बैठकमा समितिका सदस्य सुरेन्द्रराज पाण्डेले नाकाबन्दीलगायतका कारण सो आयोजना निर्माणको क्रममा भएको क्षतिवापत सरकारसँग सो कम्पनीले २ अर्ब ५२ करोड माग गरेको जानकारी गराएका हुन् । समितिले पाण्डेलाई सो आयोजनाबारे स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिएको थियो ।
प्रतिवेदनमा सो आयोजनाको बाँकि काम सम्पन्न गर्न २ अर्ब ४५ करोड लाग्ने जनाइएको छ । प्रतिवदेनमा सिएमसी कम्पनीलाई भन्दा नयाँ ठेकेदार कम्पनीलाई जिम्मेवारी दिएर सो आयोजनाको बाँकि काम सम्पन्न गर्न पनि सरकारलाई सुझाव दिइएको छ ।
पाण्डेले मेलम्ची आयोजनाको कामलाई छिटो अघि बढाउन पनि सरकारलाई सुझाव दिए । प्रतिवेदनमा सिएमसी कम्पनीको २ अर्व १० करोड रुपैयाँ सरकारले बैंकबाट जफ्त गरिसकेको पनि उल्लेख गरिएको छ ।