सिएमसी कम्पनी सरकारका लागि ‘निल्नु न ओकल्नु’ : मन्त्री मगर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सिएमसी कम्पनी सरकारका लागि ‘निल्नु न ओकल्नु’ : मन्त्री मगर

Bina-magar

काठमाडौं, १२ पुस । खानेपानी मन्त्री विना मगरले इटालियन ठेकेदार कम्पनी सिएमसीकै कारण सरकारले मेलम्चीको खानेपानी काठमाडौंमा आउने मिति सार्दै जानु परेको बताएकी छन् ।

मन्त्री मगरले सिएमसी कम्पनीले सहमति कार्यान्वयन नगरेकै कारण दसैं अघि काठमाडौंमा पानी ल्याउने सरकारको योजना पूरा हुन नसकेको आरोप लगाइन् । उनले अव आईन्दा सो पानी कहिले काठमाडौं आउँछ ? भनेर मिति नतोक्ने पनि बताइन् ।

बिहीबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मगरले निर्माणको अन्तिम चरणमा पुगेको सो आयोजनाको काम सिएमसी कम्पनीबाटै गराउन चाहेको उल्लेख गर्दै त्यसका लागि कम्पनीले विश्वसनीय वातावरण बनाउनुपर्ने आवश्यक्तामा जोड दिइन् ।

सिएमसी कम्पनी मेलम्ची खानेपानी आयोजनाको काम छोडेर भाग्दा नेपाली बैंक र पेटी ठेकेदार डुब्ने भएकाले सरकार यही कम्पनीलाई पुनः काममा लगाउन प्रयासरत रहेको पनि मन्त्री मगरको भनाई छ ।

मन्त्री मगरले सिएमसी कम्पनी सरकारका लागि ‘निल्नु न ओकल्नु’को अवस्थामा रहेको उल्लेख गर्दै त्यसको कानुनी उपचारमा सरकार लागि परेको स्पष्ट पारिन् । मन्त्री मगरले बजेटको अभाव देखाएर सिएमसी कम्पनीले ठेक्का सम्झौंताबाट पछि हट्ने काम गरिरहेको उल्लेख गर्दै सो समस्या समाधान गर्न लाग्ने समयको एकीन नभएको पनि समितिलाई जानकारी गराइन् ।

उनले १ अरव ६५ करोड माग दावी सिएमसी कम्पनीबाट आएपछि मेलम्ची खानेपानी आयोजनाको काम अन्तिम चरणमा आएर अलपत्र परेको बताइन् । सो कम्पनीले गरेको माग दावी जायज नभएको मन्त्री मगरको बुझाई छ ।

मन्त्री मगरले सकेसम्म सिएमसी कम्पनीबाटै मेलम्ची खानेपानी आयोजनाको बाँकि काम पूरा गराउने, नभए अन्य विकल्प खोजी गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन् । मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको काममा नेपाली पक्षले आर्थिक हिनामिना गरेको पाइए कडा कार्वाही गर्ने चेतावनी दिइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);