राष्ट्रिय नर्सिङ दिवस विविध कार्यक्रम गरी देशैभर मनाइयो | ईमाउण्टेन समाचार

Our Network

असार १ २०८३, मंगलबार

राष्ट्रिय नर्सिङ दिवस विविध कार्यक्रम गरी देशैभर मनाइयो

काठमाडौं, १५ माघ । राष्ट्रिय नर्सिङ दिवस मंगलबार देशभर बिभिन्न कार्यक्रम गरी मनाइएको छ । हरेक वर्षको मे १२ मा अन्तर्राष्ट्रिय नर्स दिवस मनाईंदै आएतापनि नेपालमा भने राष्ट्रिय नर्सिङ दिवस प्रत्येक बर्षको माघ १५ गते मनाईंदै आएको छ । हरेक वर्ष दिवस मनाइए पनि नर्सिङ पेशालाई अझै मर्यादित बनाउन नसकिएको सरोकारवालाको भनाई छ ।

नर्स विना स्वास्थ्य क्षेत्रको परिकल्पना पनि गर्न सकिँदैन । अस्पतालामा डाक्टरहरुको जति भूमिका हुन्छ, विरामीको सेवा र स्याहारकालागि त्यो भन्दाबढी नर्सहरुको भूमिका हुन्छ । नर्सहरुविना न त डाक्टरले सेवा दिन सक्छन्, न त अस्पतालको परिकल्पना नैं गर्न सकिन्छ ।

विरामीले दिने स्यावासी र गाली दुबैको भागिदार बन्ने र प्रत्यक्ष भोग्ने नर्सहरुले नै हो । यति हुँदा हुँदै पनि नर्सिङ क्षेत्रमा युवा पुस्ताको आकर्षण बढीरहेको छ । तर, यो पेशा चुनौतिबाट बाहिर ल्याउने काम नभएको सरोकारवालाको भनाई छ ।

युवा पुस्ताको आकर्षण बढिरहेपनि आम मानिसले नर्सिङ पेशालाई सकारात्मक रुपमा मात्र बुझ्ने गरेका छैनन् । सँगै काम गर्ने डाक्टर देखि सेवामा जाने विरामीसम्मले नर्सहरुलाई सम्मानको साटो हेप्ने गरेको नर्सहरको अनुभव छ ।

तर पेशागत मर्यादा बढाउनमा पुरानो पुस्ताको मान्यता बदल्दै नयाँ पुस्ताले बदलेका छन् । तथापी कार्यस्थलमा हुने दुर्व्यवहार र श्रम शोषणका कारण सेवामूलक नर्सिङ पेशालाई मर्यादित बनाउन नसकेको पेशामा संलग्नहरुको अनुभव छ।

अध्ययनपछि रोजगारमा सजिलै अवसर भएपनि यो पेशाप्रति आकर्षण जतिकै वितृष्णा पनि छ । कम पारिश्रमिकमा काम गर्नु पर्ने वाध्यता, सरकारी सेवामा पद मिलान समस्या, दरवन्दी अभावजस्ता समस्याले सेवा प्रवेशपछि पनि जागिर छोडेर विदेशीने प्रवृति बढीरहेको छ ।

हरेक वर्ष नेपालमा सातहजार नर्सहरु उत्पादन हुने गर्छन । अहिलेसम्म ८५ हजारले नर्सिङ अध्ययन गरेपनि सरकारी सेवामा १२ हजारले मात्र काम पाएका छन् । नर्सिङ्ग अध्ययन गर्न चारलाख ७५ हजारदेखि १४ लाखसम्म खर्च लाग्ने गर्छ।

लाखौं खर्च गरेर पढ्ने तर, १० हजारभन्दा कममा काम गर्नु पर्ने बाध्यताले कतिपय नर्स पढेका युवति काम खोज्दै विदेशसमेत जाने गरेका छन् । धेरै जसो नर्सको प्रमुख रोजाइ अस्ट्रेलिया हुने गर्छ ।