उदयपुर, ८ असोज । दुई वर्ष भित्र बनिसक्नुपर्ने उदयरपुरको त्रियुगा नदीको पुल ६ वर्ष वितिसक्दा पनि बनेको छैन । २०६३ सालमा निर्माण सम्पन्न गर्नुपर्ने सिबाई–वेल्टार जोड्ने पुल अहिलेसम्म बन्ने कुनै छाँटकाट देखिएको छैन ।
लोकप्रिय महालक्ष्मी कन्ट्रक्सनले ८ करोड ६६ लाख रुपैयाँमा यो पुलको ठेक्का पाएको थियो । तर, ठेकेदारको लापरवाहीका कारण स्थानीयहरु जोखिम मोलेर डुंगाबाट नदी वारपार गर्न वाध्य छन्।
३ सय ७ मिटर लम्बाई तथा ९ मिटर चौडाई भएको यो पुल निर्माण कार्यमा ठेकेदार कम्पनीले चरम लापरबाही गर्दा पनि सरोकारवाला निकायले चाँसो देखाएका छैनन् । नदी तर्दा वर्षेनी हुने क्षतिबाट दुखित स्थानीयले २ वर्षमा बन्नुपर्ने पुल ६ बर्ष बितिसक्दा पनि नबनेपछि झनै आक्रोसित हुन थालेका छन् ।
कामको जिम्मा लिने बेलामा कडा प्रतिस्पर्धा गर्ने र जिम्मा पाइसकेपछि चरम हेलचेक्¥याई गर्ने ठेकेदार कम्पनीलाई कडा कारबाही गर्न स्थानीयले माग गरेका छन् । सरकारले पर्याप्त वजेट उपलब्ध गराउँदा गराउँदै पनि काममा ढिलाई गर्ने लोकप्रिय महालक्ष्मी कन्ट्रक्सनलाई अर्काे ठेक्का नदिन समेत स्थानीयले सुझाव दिएका छन् ।