पञ्चायती व्यवस्था ढाल्न भरतशमशेर ठूलो योगदान : देउवा | ईमाउण्टेन समाचार

Our Network

जेठ २४ २०८३, सोमबार

पञ्चायती व्यवस्था ढाल्न भरतशमशेर ठूलो योगदान : देउवा

deuba

काठमाडौं, ६ भदौ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीले मुलुकमा ठूल्ठूला आन्दोलनको नेतृत्व गरेको दावी गरेका छन् ।

सभापति देउवाले पार्टीका स्वर्गीय नेता भरतशमशेर राणाको प्रेरणाबाटै नेपाली काँग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको समेत अगुवाई गर्न सफल भएको दावी गरे ।

बुधबार पार्टीका स्वर्गीय नेता भरतशमशेर राणाको १३ औं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले भरत शमशेर राणा कुलीन परिवारमा जन्मेर पनि क्रान्तिकारी व्यक्तित्व भएको उल्लेख गर्दै उपले पञ्चायति व्यवस्था ढाल्न पनि ठूलो योगदान गरेको स्मरण गरे ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वर्गीय भरत शमशेर राणाले गरिव र दलित जनताको मुक्ति आन्दोलनको नेतृत्व लिएको उल्लेख गरे । उनले नेपाली काँग्रेसलाई लोकतन्त्रको रक्षाकवजको रुपमा अघि बढाउन पनि भरत शमशेरको नेतृत्वदायी भूमिका रहेको स्पष्ट पारे ।

नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भरतशमशेर राणाले नेपालको लोकतान्त्रिक आन्दोलनलाई यो ठाउँमा पु-याउन अतुलनीय योगदान दिएको बताए । उनले भरत शमशेर राणाकै कारण आफू राजनीतिमा होमिएको खुलासा गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले भरत शमशेरलाई एक संघर्षशील नेताको रुपमा चित्रण गरे । उनले आफ्नो समयको सबैभन्दा लोकप्रिय नेता भरत शमशेरले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएको बताए ।

अध्यक्ष राणाले दरबारको सुखसयल त्याग गरेर भरत शमशेर राणाले नेपालमा लोकतन्त्र स्थापनाका लागि कठोर संघर्ष गरेको बताए ।