काठमाडौं, ६ भदौ । पछिल्लो समयमा छात्रावासमा अपराधिक गतिविधि बढ्दै गएको छ । अध्ययन गर्ने उद्देश्यले छात्रावासमा बस्ने विद्यार्थीहरुको अमर्यादित क्रियाकलापले अभिभावकहरु चिन्तित भएका छन् ।
विक्रम संवत् १९४३ सालमा राणा प्रधानमन्त्री वीरशमशेरले स्थापना गरेको तीनधारा पाकशाला नेपालकै पहिलो छात्रावास हो । सेवाभावले खोलिने गरेका छात्रावासहरु व्यवसायमुखी बन्दै गइरहेका बेला जटिल समस्याहरु पनि सँगसँगै आउन थालेका छन् ।
छात्रावासहरुमा हुने झैझगडा, होहल्ला, लागुपदार्थ सेवन जस्ता अमर्यादित क्रियाकलापले विद्यार्थीहरुको अन्योल भविष्यसँगै सामाजिक विकृति पनि बढ्दै गइरहेको छ ।
झैझगडा, होहल्ला, जुवातास, लागुपदार्थ सेवन जस्ता क्रियाकलाप देशभरिमा रहेका करिब १४ सय छात्रावासहरुका साझा समस्या रहेको छात्रावास सञ्चालकहरुको भनाइ छ ।
पछिल्लो समय अत्यन्त लहर आएको होस्टेल बस्ने र बसाउने प्रचलनको समयमै प्रशासनको नियमित अनुगमन नगर्ने हो भने यसले विकृतिको जरो गाड्ने निश्चिित छ ।




