प्रेम सम्बन्ध र बहुविवाहका कारण आत्महत्या गर्नेको संख्या बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

प्रेम सम्बन्ध र बहुविवाहका कारण आत्महत्या गर्नेको संख्या बढ्दै

atmahatya

सिन्धुली । गत ८ मंसिरमा तिनपाटन गाउँपालिका-३ कोटगाउँका १५ वर्षीय कपिल श्रेष्ठ घर नजिकैको गोठमा झुन्डिएको अवस्थामा फेला परे । गोठको धुरीमा नाइलनको डोरीको पासो लगाई झुन्डी मृत्यु भइसकेको अवस्थामा उनको परिवारले भेटे ।

गत ९ मंसिरमा कमलामाई नगरपालिका-५ जरायोटारकी ३० वर्षीया गीता विश्वकर्मा आफू सुत्ने काेठामै झुन्डिएको अवस्थामा फेला परिन् । नाम्लोको डोरी घाँटीमा पासो लगाई झुन्डिएको अवस्थामा विश्वकर्माको परिवारले फेला पारेका थिए । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार पछिल्लो समय आत्महत्याका घटना धेरै हुने गरेका छन् । जसअनुसार १  देखि २१ मंसिरसम्म १३ जनाले आत्महत्या गरेका छन् ।  जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले बेरोजगारी, व्यवसायमा असफलता, घरझगडा, पारिवारिक विछोड तथा मानसिक समस्याका कारण पनि आत्महत्याका घटना बढ्दै गएको बताए ।

‘बढ्दै गएको सहरीकरणसँगै महत्वाकांक्षा पनि थपिँदै जाने तर महत्वाकांक्षा पूरा नहुने, व्यवसायमा असफता, श्रीमान्- श्रीमतीबीचको झगडालगायतका कारण पनि आत्महत्याका घटना बढेका छन्,’ उनले भने । साथै मानसिक तनाव, प्रेम सम्बन्ध, बहुविवाह, बढ्दो प्रविधिसँगै आएको विकृति, घरेलु हिंसा, आत्मग्लानी, गरिबीलगायत पनि आत्महत्याका लागि कारण बन्ने डिएसपी लामाले बताए ।

‘प्रेममा असफलताका कारण खासगरी युवाहरूमा एक्लै वा युगल आत्महत्याका घटना पनि भइरहेका छन् । प्रेमका कारण आत्महत्या हुनुका समेत दुई छिमल छन् । पहिलो, घरमा श्रीमती या श्रीमान् हुँदाहुँदै भएका विवाहइतर सम्बन्ध । दोस्रो, प्रेममा परेका तर विभिन्न कारणले विवाह हुन नसकेका । जस्तै- जातपात, आर्थिक हैसियत नमिल्दा प्रेममा जोडिएकाहरूको सम्बन्धले विवाहको रूपधारण गर्न सक्दैन । र, उनीहरू आफूहरूको प्रेम अस्वीकार गर्ने समाजलाई आफैँलाई समाप्त पारेर दण्डित गरिरहेका छन्,’ उनले भने । 

सिन्धुलीमा मात्र नभई देशभर नै आत्महत्याको समस्या रहेको उनको भनाइ छ । साथै उनले आत्महत्याका घटना बढ्दै गएपछि यसका कारण र न्यूनीकरणबारे सूक्ष्म अनुसन्धान गरिरहेको जानकारी दिए । ‘जसरी आत्महत्या गर्नेहरुको संख्या बढिरहेको छ यसले समाज डरलाग्दो अवस्थामा जाँदै छ भन्ने अवस्थाको चित्रण गरेको छ । त्यसैले पनि बेरोजगार युवाहरूलाई रोजगार बनाउने, सचेतना बृद्धि गर्नुका साथै मनोवल बढ्ने खालका कार्यक्रममा जोड्न सके आत्महत्या न्यूनीकरण गर्न सकिन्छ’, उनले भने । आत्महत्या गर्नेहरू धेरै युवा अवस्थाका व्यक्ति रहेको लामाले बताए । 

शरीरमा थकान, निराशा, अनावश्यक तनाव, पुराना कुराहरूप्रति वितृष्णा हुने जस्ता किसिमका लक्षण देखिए चिकित्सकहरूसँग परामर्श गर्नुपर्ने मनोचिकित्सकहरूले सुझाव दिएका छन् । पछिल्लो समय किशोर-किशोरीले समेत आत्महत्या गर्नुको कारण पहिचान गरी विद्यालय स्तरबाटै जीवनको महत्व बुझाउँदै सचेतना जगाउने र आत्मबल बढाउने खालका कार्यक्रम गर्न जरूरी रहेको उनीहरूको भनाइ छ । के कारणले मानिस आत्महत्यातर्फ उन्मुख हुने गरेका छन् ती कारणको पहिचान गरी निराकरण गर्न जरूरी रहेको मनोचिकित्सकहरू बताउँछन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);