उपत्यकाका विभिन्न स्थानमा श्रृंखलावद्ध रूपमा चोरी तथा लुटपाट गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले लुटपाट गर्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई पक्राउ गरी आईतवार सार्वजानिक गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेकाअनुसार पक्राउ पर्नेमा गिरोहका मुख्य नायिके सिन्धुपाल्चोकका ३४ वर्षीय कर्मा तामाङसहित काभ्रेका प्रतिमान गोले, पासाङ घिसिङ, मनोज तामाङ र कास्कीका आले गुरुङ छन् । प्रहरीले अनुसन्धानका क्रममा उनीहरूलाई बनेपासहित विभिन्न स्थानबाट पक्राउ गरिएको हो । मुख्य अभियुक्त कर्मा तामाङ, प्रतिमान र पासाङ यसअघि पनि चोरी तथा डाँका सम्बन्धी मुद्दामा पक्राउ परेको व्यक्ति रहेको प्रहरी प्रमुख घिमिरेले जानकारी दिनुभयो । कर्मालाई पक्राउ गर्न प्रहरीले गोली चलाउनु परेको थियो । बुढानीलकण्ठको भैरव रोड क्षेत्रमा पुगेको प्रहरी टोलीमाथि कर्माले खुकुरी प्रहार गर्ने प्रयास गरेपछि प्रहरीले दुई राउण्ड हवाई फायर र एक राउण्ड गोली चलाएर नियन्त्रणमा लिएको प्रहरी प्रमुख घिमिरेले बताउनु भयो । प्रहरीको गोली लागेर घाइते भएका कर्माको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । कर्मा समूहले उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनको सिक्री लुट्ने गरेको एसएसपी घिमिरेले जानकारी दिनुभयो । उहाँकाअनुसार उक्त गिरोहले विशेषगरी बिहान वा साँझ एक्लै हिँडिरहेका महिला तथा वृद्धवृद्धालाई निशाना बनाउने गरेको थियो । उनीहरूले शुरुमा बाटो सोध्ने बहानामा संवाद गर्ने र त्यसलगत्तै मोटरसाइकलबाट आएर लछारपछार गर्दै घाँटीमा लगाएका सुनका सिक्री तथा नगद लुट्ने शैली अपनाएको अनुसन्धानबाट खुलेको छ । घटनापछि प्रयोग गरिएको पल्सर मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गर्ने, केही दिन काठमाडौंमा लगातार अपराध गरेर १०–१५ दिन अन्यत्र लुक्ने रणनीति अपनाउने गरेको अनुसन्धानको क्रममा पाईएको प्रहरी प्रमुख घिमिरेले जानकारी दिनुभयो । घिमिरेकाअनुसार हालसम्म काठमाडौं र काभ्रेमा भएका कम्तीमा चार वटा सिक्री लुटपाटका घटनामा कर्मा गिरोहको संलग्नता रहेको पाईएको छ । उनीहरुले काठमाडौको शान्तिनगर, नरेफाँट, धुलिखेल–बनेपा र धापासीमा भएका लुटपाट गरेका थिए । पछिल्लोपटक यो समुहले साउन ७ गते धापासीमा ६६ वर्षीया वृद्धाको सिक्री लुटेको प्रहरी प्रमुख घिमिरेले जानकारी दिनुभयो । प्रमुख घिमिरेका अनुसार पक्राउ परेका प्रतिमान गोले लुटपाट गर्दा मोटरसाइकल चालकको भुमिकामा थिए भने पासाङ घिसिङले चोरीपछि मोटरसाइकलको व्यवस्थापन गर्ने गरेका थिए । आले गुरुङले लुटपाटका क्रममा प्रतिरोध भएमा ‘ब्याकअप’को भूमिका निर्वाह गर्ने र मनोज तामाङले लुटिएका सुन पगालेर स्वरूप परिवर्तन गर्ने काम गरेको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले उक्त समुहले प्रयोग गर्ने मोटरसाइकल, विभिन्न नम्बर प्लेट, हेल्मेट, ज्याकेट, जुत्ता, सुन पगाल्न प्रयोग हुने सामग्री, मोटरसाइकलको ह्यान्डल लक तोड्ने औजार, खुकुरी तथा मोबाइल फोन बरामद गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।–




