काठमाडाैं, १७ साउन । नेपाल र पोर्चुगलबीच द्विपक्षीय सम्बन्ध विस्तारका लागि संयन्त्र निर्माण गर्ने समझदारी भएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बिहीबार प्रतिनिधिसभाको बैठकमा नेपाल र पोर्चुगलबीच द्विपक्षीय सम्बन्ध विस्तारका लागि संयन्त्र स्थापना गर्ने समझदारी गरिएको बताए ।
आफ्नो पोर्चुगल, बेल्जियम र लक्जेम्बर्गको हालै सम्पन्न ८ दिने भ्रमणबारे प्रतिनिधिसभालाई औपचारिक जानकारी गराउँदै उनले आफ्नो भ्रमणपछि पोर्चुगल र बेल्जियमबाट लगानी र पर्यटक अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।
मन्त्री ज्ञवालीले युरोपीयन मुलुकहरुको सम्बन्ध विस्तारबाट नेपालको समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने भएकाले आफूले पोर्चुगल, बेल्जियम लगायतका मुलुकको भ्रमण गरेको स्पष्ट पारे ।
परराष्ट्रमन्त्री ज्ञवालीले युरोपका विभिन्न मुलुकको भ्रमणका क्रममा आफूले विश्व शान्ति र विकासोन्मुख राष्ट्रको पक्षमा सहकार्य गरेर अघि बढ्ने समझदारी गरेको बताए । परराष्ट्रमन्त्री ज्ञवाली युरापका विभिन्न मुलुकको भ्रमण पूरा गरी बुधबार स्वदेश आएका थिए ।




