काठमाडौं, २५ फागुन । नेकपा माओवादी केन्द्रले कृष्णबहादुर महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवासमा आज बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
नेकपा एमाले र माओवादी केन्द्रबीच सभामुख माओवादी केन्द्रले लिने सहमति यसअघि नै भएको थियो । सभामुख चयनका लागि आज उम्मेदवारको मनोनयन दर्ता गराईंदै छ ।
संघीय संसद् भवनमा अहिले १० बजेदेखि अपरान्ह १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । बाम गठबन्धनका उम्मेदवारको जित सुनिश्चित रहेका कारण प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उम्मेदवारी नदिने भएको छ । सभामुखको निर्वाचन भोलि हुँदै छ ।