काठमाडौं ।
साविक विश्व विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ । तर यो खेलको सबैभन्दा ठूलो आकर्षण अर्जेन्टिनाको जित होइन, करियरको छैटौं विश्वकपको मैदानमा उत्रिएका कप्तान लियोनल मेस्सीका ऐतिहासिक उपलब्धिहरू बनेका छन् । ३८ वर्षको उमेरमा, सम्भवतः अन्तिम विश्वकप खेलिरहेका मेस्सीले विश्वकप २०२६ को पहिलो खेलमै करियरकै पहिलो ह्याट्रिक गरेका छन् । मेस्सीले विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने किर्र्तीमान पनि बराबरी गरेका छन् ।सन् २०२२ कतार विश्वकपमा अर्जेन्टिनालाई विश्व विजेता बनाएका मेस्सीले सम्भावित अन्तिम विश्वकपमा उत्कृष्ट सुरुवात गरेका छन् । अमेरिकाको कान्सास सिटी स्टेडियममा समूह ‘जे’ अन्तर्गतको खेलमा अर्जेन्टिनाले अल्जेरियामाथि ३–० गोलअन्तरको जित निकाल्यो । जितका सबै तीन गोल कप्तान लियोनल मेस्सीले गरे । खेलको १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल गर्दै मेस्सीले विश्वकप करियरकै पहिलो ह्याट्रिक गरे ।
विश्वकपको सबैभन्दा ठूलो मञ्चमा २० वर्षभन्दा लामो यात्रापछि आएको यो ह्याट्रिक उनका समर्थकहरूका लागि विशेष क्षण बन्यो । कतार विश्वकप तिजेपछि धेरैको अनुमान विपरित सन्यास नलिएका मेसीले यसपटक अधुरो सपना पनि पूरा गरे । अहिले ३८ वर्षमा मेसीले छैंटौं विश्वकप खेल्दै छन् । छैंटौं विश्वकप खेल्ने पहिलो खेलाडी बनेका मेसीले विश्वकपमा कुल गोल संख्या १६ पुर्याउँदै जर्मनीका स्ट्राइकर मिर्लाेस्लाभ क्लोजको सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका छन् । यससँगै मेस्सी विश्वकप इतिहासमा ह्याट्रिक गर्ने सबैभन्दा पाका खेलाडी समेत बनेका छन् ।तर, यो विश्वकप केवल मेस्सीको कथा मात्र होइन ।
पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पनि सम्भवतः अन्तिम विश्वकप खेलिरहेका छन् । सन् २००६ मा मेस्सीसँगै विश्वकप यात्रा सुरु गरेका रोनाल्डोे ४१ वर्षको भइसकेका छन् । रोनाल्डोको नाममा विश्वकपमा हालसम्म १० गोल रहेको छ । उनले पाँच फरक विश्वकपमा गोल गर्ने दुर्लभ कीर्तिमान बनाएका छन् । तर विश्वकप उपाधि उचाल्न सकेका छैनन् । २०२६ विश्वकप मेस्सी र रोनाल्डो युगको अन्तिम अध्याय जस्तै बनेको छ । दुई दशकभन्दा बढी समय विश्व फुटबलमा शासन गरेका यी दुई महानायकहरू सम्भवतः अन्तिम पटक विश्वकपको मञ्चमा देखिँदै छन् ।अर्को तर्फ पुस्ता पनि तयार छ ।
फ्रान्सका कप्तान किलियन एम्बाप्पे अहिले विश्व फुटबलको भविष्यका रूपमा हेरिएका छन् । केवल २७ वर्षको उमेरमै एम्बाप्पेले विश्वकपमा १४ गोल गरिसकेका छन् । सन् २०१८ मा विश्वकप जितिसकेका एम्बाप्पेले २०२२ मा पनि फ्रान्सलाई फाइनलसम्म पुर्याएका थिए । वर्तमान लय कायम राखे भने एम्बाप्पेले क्लोस र मेस्सीको विश्वकप गोल कीर्तिमान तोड्ने सबैभन्दा बलियो दाबेदार बनेका छन् ।तर, लियोनल मेस्सीले फेरि एकपटक उमेर केवल संख्या मात्र हो भन्ने प्रमाणित गरेका छन् । विश्व फुटबलको नजर फेरि एकपटक अर्जेन्टिनाको आगामी यात्रामा केन्द्रित भएको छ । के मेस्सीले आफ्नो अन्तिम विश्वकपलाई अर्को ऐतिहासिक उपाधिमा परिणत गर्न सक्लान् ? त्यो भने अजेन्र्टिनाको आगामि खेलले निर्धारण गर्ने छ ।




