बराबरीले जोगायो ब्राजिल र पोर्चुगलको साखः अर्जेन्टिना, फ्रान्स र जर्मनीको आक्रमक सुरुवात, एसियाली देशको खेल पनि सन्तोषजनक | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

बराबरीले जोगायो ब्राजिल र पोर्चुगलको साखः अर्जेन्टिना, फ्रान्स र जर्मनीको आक्रमक सुरुवात, एसियाली देशको खेल पनि सन्तोषजनक

फिफा विश्वकप २०२६ को समूह चरणको पहिलो चरण सकिँदा विश्व फुटबलमा केही अप्रत्याशित नतिजा देखिएका छन् । सहभागि ४८ टोलीले पहिलो खेल खेलिसकेका छन् । उपाधिका प्रमुख दाबेदारमध्ये केही टोलीहरू निराशाजनक सुरुवातका कारण दबाबमा परेका छन् भने केही टोलीले पहिलो खेलमै आफ्नो बलियो दाबेदारी प्रदर्शन गरेका छन् । तर, पहिलो चरणको सबैभन्दा ठूलो आकर्षण विश्वकप इतिहासमै पहिलो ह्याट्रिक र नयाँ कीर्तिमानहरूको वर्षा गर्दै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी बनेका छन् ।

विश्वकप २०२६ को पहिलो खेलहरू सकिँदा सबैभन्दा बढी चर्चा उपाधि दाबेदार टोलीहरूको प्रदर्शनलाई लिएर भइरहेको छ । विश्कप सुरु हुनु अघि उच्च दाबेदार मानिएको स्पेनले पहिलो खेलमै राम्रो खेल प्रस्तुत गर्न सकेन । बल नियन्त्रणमा भए पनि आक्रमणलाई गोलमा परिणत गर्न नसक्दा केव भर्डेसँग गोलरहित बराबरीमा सिमित भयो । पाँच पटकको विश्व विजेता ब्राजिलले अपेक्षाअनुसारको खेल प्रस्तुत गर्न सकेन । स्टार खेलाडीहरूले भरिएको टोली भए पनि मैदानमा खेलाडि बीच समन्वयन नहुँदा मोरोक्कोले हानेको सुरुवाति गोललाई जुनियर भिनिको एकल प्रयासमा बराबरी बनाउँदै खेल जोगाउन मात्र सक्यो । त्यसैगरी, क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगल पनि आफ्नो वास्तविक लयमा देखिएन । खेलको सुरुवातमै गोल गरे पनि कंगोलाई रोक्न नसक्दा बराबरीमा अंक बाड्न पुग्यो ।

तर, केही दाबेदार टोलीले भने पहिलो खेलमै उत्कृष्ट प्रर्दशन गरेका छन् । साविक विजेता अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीको नेतृत्वमा ह्याट्रिकसँगै अल्जेरियामाथि जित निकाल्दै उपाधि रक्षा अभियानलाई मजबुत बनाएको छ । ३८ वर्षको उमेरमा सम्भावित अन्तिम विश्वकप खेलिरहेका मेस्सीले ह्याट्रिक मात्र गरेनन्, विश्वकप इतिहासमा सर्वाधिक २७ खेल खेल्ने खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा लेखाए । ह्याट्रिकसँगै विश्वकप गोल संख्या १६ पुर्याएका मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोसको सर्वाधिक गोलको कीर्तिमान बराबरी पनि गरेका छन् । किलियन एम्बाप्पेको नेतृत्वमा फ्रान्सले आक्रमण क्षमता प्रदर्शन गर्दै उपाधिको बलियो दाबेदारी प्रस्तुत गरेको छ । २७ वर्षमै विश्वकपमा १४ गोल गरिसकेका एम्बाप्पे भविष्यमा मेस्सी र क्लोसको गोल कीर्तिमान तोड्ने प्रमुख दाबेदार मानिएका छन् । जर्मनीले अनुशासित र संगठित प्रदर्शनमार्फत कुराकाओमाथि ठूलो जित निकाल्दै आफूलाई बलियो प्रतिस्पर्धीका रूपमा प्रस्तुत गरेको छ । यता, नर्वेको सफल सुरुवातमा भने सबैभन्दा ठूलो भूमिका स्टार स्ट्राइकर एर्लिङ ह्याल्याण्डको रह्यो । २८ वर्ष पछि विश्वकपमा ठाउँ बनाएको नर्वेलाई पहिलो पटक विश्वकपको ठूलो मञ्चमा नेतृत्व गरिरहेका ह्याल्याण्डले गोलसँगै उत्कृष्ट प्रदर्शन गर्दै नर्वेलाई उपाधि दाबेदारका रूपमा प्रस्तुत गरेका छन् र घरेलु समर्थकको साथमा आत्मविश्वासी देखिएको आयोजक राष्ट्र अमेरिकाले पनि पेरुग्वेमाथि ठूलो गोलअन्तरको जित निकाल्दै उपाधिको दाबी गरिरहेको छ ।

एसियाली टोलीहरूको प्रदर्शन भने सन्तोषजनक देखिएको छ । अष्ट्रेलिया र दक्षिण कोरियाले टर्कि र चेक रिपव्लिकमाथि जित निकाल्दै नकआउट चरणतर्फ बलियो कदम चालेका छन् । इरान, जापान, कतार र साउदी अरेबियाले बराबरी खेल्दै एक–एक अंक जोड्न सफल भएका छन् । विश्वकपमा पहिलो पटक स्थान बनाएका दुई एसियालि राष्ट्र जोर्डन र उज्वेकिस्तानले पनि इतिहास रचेका छन् । खेल जोगाउन नसकेपनि पहिलो पटक विश्वकप खेलिरहेका दुवै टोलीले गोल गर्न सफल भएका छन् ।अहिले प्रतियोगिताको केन्द्रमा मेस्सी, एम्बाप्पे र ह्याल्याण्ड देखिएका छन् । आफ्नो सम्भावित अन्तिम विश्वकप खेलिरहेका मेस्सीसँगै आउँदो विश्व फुटबलका दुई सम्राटको उदयले खेल झनै आर्कषक बनाएको छ । मेस्सीको ऐतिहासिक ह्याट्रिक, एम्बाप्पेको निरन्तर प्रभाव, ह्याल्याण्डको उदय, एसियाली टोलीहरूको संघर्ष र केही ठूला टोलीहरूको निराशाजनक सुरुवातले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको छ । पहिलो चरणका खेल सकिँदा केही टोली नकआउट यात्रातर्फ आशावादी देखिएका छन् भने केही दाबेदार राष्ट्रहरू दबाबमा परेका छन् । अब दोस्रो चरणका खेलहरूले नकआउट यात्राका बारेमा अझ स्पष्ट पार्ने छन् ।

Leave a Reply

ताजा समाचार