लिबियामा समुन्द्री कछुवा संरक्षणमा उल्लेख्य प्रगति, चुनौतीहरू भने यथावत | ईमाउण्टेन समाचार

Our Network

भदौ २५ २०८३, शुक्रबार

लिबियामा समुन्द्री कछुवा संरक्षणमा उल्लेख्य प्रगति, चुनौतीहरू भने यथावत

लिबियाको पश्चिमी तटीय क्षेत्रमा अवस्थित फारवा टापु र आसपासका क्षेत्रमा लोपोन्मुख लगरहेड समुन्द्री कछुवाको संरक्षणका लागि गरिएका प्रयासहरूले सकारात्मक परिणाम देखाउन थालेका छन् । विश्व वातावरण दिवसको सन्दर्भमा वातावरण संरक्षणकर्मीहरूले लिबियाका समुद्री तटहरूमा कछुवाका गुँडहरूको सङ्ख्यामा वृद्धि भएको जानकारी दिएका छन् । पिसिडा एसोसिएसनका निर्देशक नादेर नजिब अल–अज्जाबीका अनुसार पछिल्ला वर्षहरूमा सञ्चालित जनचेतना अभिवृद्धि र संरक्षणका कार्यक्रमहरूका कारण टापुमा कछुवाका गुँडहरूको सङ्ख्यामा उल्लेख्य सुधार आएको छ । १ हजार ९ सय किलोमिटरभन्दा लामो भूमध्यसागरीय तट रहेको लिबियामा समुन्द्री कछुवाका लागि उपयुक्त प्राकृतिक वासस्थान र प्रजनन स्थलहरू रहेका छन् । लिबियाको वातावरण मन्त्रालयअन्तर्गत समुद्री तथा वन्यजन्तु संरक्षण विभागका प्रमुख मुख्तार अल–काइलोसीले लिबियाको तटीय क्षेत्र शहरीकरणबाट तुलनात्मक रूपमा टाढा रहेकाले यो क्षेत्र लगरहेड कछुवाका लागि भूमध्यसागरकै महत्त्वपूर्ण प्रजनन स्थल बनेको बताए । हाल सरकारी तथा गैरसरकारी क्षेत्रबाट हुने अनुगमनका क्रममा वार्षिक १ हजार भन्दा बढी गुँडहरू भेटिने गरेका छन् । यद्यपि, भौगोलिक विकटताका कारण कतिपय गुँडहरू अझै पनि अनुगमनको दायरामा आउन नसकेको विश्वास गरिएको छ । संरक्षणमा प्राप्त सफलताका बाबजुद कछुवाहरूका लागि मानवीय र वातावरणीय चुनौतीहरू अझै पनि गम्भीर रहेका छन् । विज्ञहरूकाअनुसार प्लास्टिक प्रदूषण, माछा मार्ने जालमा कछुवाहरू झुक्किएर पर्नु, समुन्द्री तटमा हुने कृत्रिम प्रकाश र तिब्र शहरीकरणले यस प्रजातिको अस्तित्वमा सङ्कट पैदा गरिरहेको छ । विशेषगरी प्लास्टिकका झोलाहरूलाई जेलिफिस ठानेर कछुवाहरूले खाने गर्दा उनीहरूको पाचन प्रणालीमा गम्भीर समस्या आई मृत्यु हुने गरेको छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको तथ्याङ्कअनुसार भूमध्यसागरका केही क्षेत्रमा ८० प्रतिशतसम्म समुद्री कछुवाहरू प्लास्टिकजन्य प्रदूषणबाट प्रभावित छन् ।
यसैगरी, समुन्द्री तटमा हुने कृत्रिम प्रकाशका कारण भर्खरै जन्मिएका कछुवाका बच्चाहरू अलमलमा पर्ने गरेका छन् । समुन्द्री विज्ञानका प्राध्यापक इस्माइल सागमनकाअनुसार कछुवाका बच्चाहरूले समुन्द्रको पानीमा प्रतिबिम्बित चन्द्रमाको प्रकाशको सहाराले समुन्द्रतर्फको बाटो पहिल्याउँछन् । तर तटमा बालिएका बत्तीहरूले उनीहरूलाई समुन्द्रको सट्टा जमिनतर्फ आकर्षित गर्दा उनीहरूको मृत्यु हुने सम्भावना प्रबल रहन्छ ।
लिबियाले नागरिक समाजसँगको सहकार्यमा हाल राष्ट्रिय समुन्द्री कछुवा संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । यसअन्तर्गत प्रजनन सिजनभरि तटहरूको सर्वेक्षण गर्ने, गुँडहरूलाई धातुको घेरा हालेर जङ्गली जनावरबाट जोगाउने र बाढीको जोखिम भएका गुँडहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य गरिन्छ । स्वयंसेवकहरूको सक्रियता र बढ्दो जनचेतनाका कारण सन् २०१३ यता लिबियामा कछुवा संरक्षणको अवस्था सुदृढ बन्दै गएको छ । घाइते वा अलपत्र परेका कछुवाहरूका बारेमा सर्वसाधारणले तत्काल जानकारी दिने गरेकाले उनीहरूको उद्धार र पुनस्र्थापनामा सहजता मिलेको संरक्षणकर्मीहरूको भनाइ छ । समुन्द्री पारिस्थितिक प्रणालीको सन्तुलन कायम राख्न र माछाको भण्डार सुरक्षित गर्न समुन्द्री कछुवाको संरक्षण अपरिहार्य रहेको विज्ञहरूले उल्लेख गरेका छन् ।

Leave a Reply

ताजा समाचार