काठमाडौं ।
नेपाली काँग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित गरिएको छ । पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सर्वसम्मत रुपमा नेता चयन गर्नभन्दै निर्देशन दिएपछि शुक्रवारका लागि तय गरिएको सो प्रक्रिया स्थागित गरिएको हो । पार्टी केन्द्रिय कार्य सम्पादन समितिको निर्णय र निर्देशनअनुसार सो निर्वाचन प्रक्रिया स्थगित गरिएको निर्वाचन समितिका संयोजक प्रकाश रसायली स्नेहीेले जानकारी दिनुभयो ।
उहाँले दलको नेता शनिवार साँझसम्म सर्वसम्मत रुपमा उम्मेदवार तय गर्नका लागि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे अनि निर्वाचन समितिको समेत सहभागिता रहने गरी कार्यदल पनि गठन गरिएको बताउनु भयो ।
पार्टीको वृहत्तर हित, लोकतन्त्र, संविधान र पार्टीमाथि आएका चुनौतिहरुको सामना गर्न पनि संसदीय दलको नेता सर्वसम्मत रुपमा चयन गर्नुपर्ने भएकाले हाललाई निर्वाचन प्रक्रिया स्थगित गरिएको नेपाली काँग्रेस संसदीय दलले जनाएको छ । सभापति गगनकुमार थापाले सांसद मोहन आचार्य, उपसभापति शर्माले समानुपातिक सांसद भिष्मराज आङ्देम्बेलाई दलको नेताको रुपमा अघि सार्नुभएको छ भने अर्का समानुपातिक सांसद अर्जुननरसिंह केसीले पनि सहमतीमा नभए आफू संसदीय दलको नेतामा उम्मेदवारी दिने जानकारी नेताहरुलाई गराएपछि काँग्रेसमा दलको नेता चयन प्रक्रिया पेचिलो बन्न गएको हो ।




