नेपाली राजनीतिमा दशकौँदेखि सत्ता र शक्तिको केन्द्र बिन्दुमा रहेका ठूला दलहरू आज अस्तित्व रक्षाका लागि पुनः जनताको कठघरामा उभिन बाध्य भएका छन् । सत्ता र शक्तिको आडमा भ्रष्टाचारमा चुर्लुम्म डुबेका नेताहरुका कारण दलहरुप्रति जनताको विश्वास गुम्दै गएको देखिन्छ । राजनीतिक दलहरुले जनताको नजरबाट गिरेको आफ्नो साख बचाउन पार्टीका सबै तहमा जेन जी पुस्तालाई सक्रिय सहभागिता गराउनु आवश्यक छ ।
नेपालको राजनीतिक इतिहासले धेरै उतारचढाव देखेको भोगेको छ । जन आन्दोलन, राजतन्त्रको अन्त्य, संविधान सभाको निर्वाचन, संविधान निर्माण तथा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्म आइपुग्दा नेपाली जनताको संघर्षको कथा गौरवपूर्ण छ । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र जस्ता प्रमुख दलहरूले यही परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेका हुन् । तर दुर्भाग्यवश, जनताको त्याग र अपेक्षा अनुसार यिनीहरूले देशलाई समृद्धितर्फ डोर्याउन सकेनन् तर आफू र आफ्ना परिवालाई नवधनढ्य बनाए । यसैकारण अहिले राजनीतिक दलका नेताहरू जनविश्वास गुमाउँदै अस्तित्व संकटको डिलमा उभिएका छन् ।
पछिल्लो समय देखिएको जेन जी आन्दोलनले नेपाली राजनीतिको वर्तमान संरचना र व्यवहारप्रति गम्भीर प्रश्न उठाएको छ । यो आन्दोलन केवल सडकमा देखिएको असन्तोष होइन; यो सामाजिक, मानसिक र भावनात्मक विद्रोह हो, जसको मूलमा भ्रष्टाचार, कार्यगत ढिलासुस्ती, अपारदर्शिता र जनताका मनमा दविएका आवाजका असहिष्णुता छ ।
अहिलेका ठूला दलहरू आफैभित्रको समस्याबाट पनि ग्रसित छन् । नेतृत्व पुस्तान्तरणको प्रष्ट खाका छैन, वरिष्ठ नेताहरूको काचुञ्जेलको सत्तामोह अझै कम भएको छैन । यसैमेसोमा कांग्रेस सभापति शेरबहादुर देउवाले राजनीतिबाट अवकाशको संकेत गरे पनि त्यो अस्पष्ट छ र व्यवहारमा देखिनै बाँकी छ । जबसम्म नेतृत्व स्वेच्छाले हस्तान्तरण हुँदैन, तबसम्म नयाँ पुस्ताले अवसर पाउँदैन र पार्टीमा उर्जा तथा नवीनता आउँदैन, यसले दलहरूलाई थप गम्भीर संकटमा पुर्याउँछ ।
पुराना नेताहरूको घिसिपिटी सोच, पुरानै कार्यशैली र नयाँ विचारप्रति असहिष्णुता नै आजको राजनीति दुषित हुनुको मूल कारण हो । राजनीतिक दलका विधानमा उल्लेखित तहगत प्रक्रिया अर्थात् सदस्यता लिएपछि तल्लो तहबाट शुरु गरेर बिस्तारै माथिल्लो पदमा पुग्नुपर्ने बाध्यता आधुनिक समाजको आवश्यकतासँग मेल खाँदैन । सक्षम, दूर दृष्टिवान, शिक्षित युवा पुस्ताले दशकौँ कुर्नु पर्ने प्रणाली आफैमा अन्यायपूर्ण छ ।
राजनीतिक दलहरूले आफ्ना संगठनात्मक संरचना र नीति निर्माणमा आमूल परिवर्तन गर्नु आवश्यक छ । केवल उमेर वा सदस्यता अवधि होइन, सक्षमता, दृष्टिकोण, कार्यसम्पादन क्षमता र समर्पणका आधारमा नेतृत्वमा पुग्न सकिने बाटो खोल्नुपर्छ । यसका लागि विधान परिमार्जन अनिवार्य छ, जुन सोच र इच्छाशक्तिबाट मात्रै सम्भव हुन्छ ।
हरेक दलहरुले जेन जी पुस्तालाई नेतृत्वमा ल्याउनु अब विकल्प होइन, आवश्यकता हो । यो पुस्ता प्रविधिमैत्री छ, पारदर्शिता र कार्यदक्षता यसको प्राथमिकतामा परेको छ । सरकारी सेवा तथा प्रशासनिक प्रक्रियामा सुधार ल्याउन उनीहरूको सोच आधुनिक छ । उनीहरू यथास्थितिबादी होइनन्, परिवर्तनकारी छन् । यस्तो पुस्तालाई विधान, नीति र अभ्यासमार्फत् राजनीतिक दलहरूले आफ्ना हरेक तहको संरचनामा प्रतिनिधित्व गराउनु अपरिहार्य छ ।
जेन जी पुस्ताले दोषमुक्त, शीघ्रसेवा प्रवाह, डिजिटल शासन प्रणाली, अनावश्यक झन्झटको अन्त्य खोजेका छन्, वर्तमान यथास्थितिवादी राजनीतिक नेतृत्वबाट यो सम्भव छैन । राजनीतिक दलहरूले यस्ता सोचहरु बुझ्न नसके उनीहरू केवल विगतको दस्तावेजमा सीमित हुन पुग्नेछन् । मुलुकले गति लिन शक्तिशाली, नैतिक र दक्ष जेन जी पुस्ताका नेतृत्वको बाटोबाट मात्रै सम्भव देखिन्छ ।
राजनीतिक दलहरूले युवाहरूलाई आश्वासनको राजनीति होइन, अब अवसरको राजनीति दिनुपर्छ । पार्टीभित्रबाट शुरु गरेर संसदसम्म युवाको प्रतिनिधित्व सुनिश्चित गर्नु आवश्यक छ । संविधानले सुनिश्चित गरेको समान सहभागिता र समावेशिताको भावना पार्टीहरूको आन्तरिक संरचनामा पनि लागू गरिनु जरुरी छ । यो परिवर्तन केवल नारामा होइन, व्यवहारमा देखिनुपर्छ ।
अब पुरानो ढर्राले राजनीति सम्भव छैन भन्ने कुरा राजनीतिक दलका नेताहरुले बुझ्नु अति आवश्यक छ । जनताको चेतना फेरिएको छ, प्रविधिको युग आएको छ र जेन जी पुस्ताको उभारले देशलाई नयाँ गतिको माग गरिरहेको छ ।





