नयाँ वर्षमा स्वयम्भूमा बढ्दै धार्मिक पर्यटकीय चहलपहल | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८२, मंगलबार

नयाँ वर्षमा स्वयम्भूमा बढ्दै धार्मिक पर्यटकीय चहलपहल

काठमाडौं । 

काठमाडौंको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल स्वयम्भूनाथ क्षेत्रमा पछिल्लो समय भक्तजन र पर्यटकहरूको घुइँचो बढ्न थालेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत यस पवित्र स्थलमा दैनिक हजारौँको संख्यामा आन्तरिक तथा वाह्य पर्यटकहरू अवलोकन र पूजाआजाका लागि पुग्ने गरेका छन् । कोही शान्तिको कामना गर्दै दीप प्रज्ज्वलन गरिरहेका छन् भने कोही गुरुहरूबाट आशीर्वाद लिँदै ‘टीका’ थापिरहेका छन् । स्वयम्भूको मुख्य स्तूप वरिपरि रहेका माने (प्रार्थना चक्र) घुमाउँदै गरेका श्रद्धालुहरू र विश्व शान्ति पोखरीमा सिक्का खसालेर मनोकांक्षा पूरा हुने विश्वास राख्नेहरूको दृश्यले यहाँको धार्मिक महत्वलाई थप प्रस्ट्याउँछ ।

साथै, यहाँका बाँदरहरू र प्राकृतिक सौन्दर्यले आगन्तुकहरूलाई विशेष आकर्षण प्रदान गरेको छ । विदेशी पर्यटकहरू समेत यहाँको आध्यात्मिक वातावरणमा मन्त्रमुग्ध भई ध्यान र प्रार्थना गरिरहेका देखिन्छन् । धार्मिक सहिष्णुताको प्रतीक मानिने स्वयम्भूमा हिन्दू र बौद्ध धर्मावलम्वीहरूले समान आस्थाका साथ पूजापाठ गर्ने गर्दछन् । विशेषगरी नयाँ वर्ष र सार्वजनिक बिदाका दिनहरूमा यहाँ दर्शनार्थीहरूको चाप अत्यधिक हुने गरेको स्थानीय व्यवसायीहरू बताउँछन् । स्वयम्भू क्षेत्रको यो चहलपहलले नेपालको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्किँदै गरेको संकेत गरेको छ ।

Leave a Reply