चितवन । मुग्लिन-नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिक खसेको पहिरो पन्छाउने काम बिहानैदेखि पुनः सुरु भएको छ । आज बिहानैदेखि मुग्लिनतर्फ र नारायणगढ तर्फबाट मेसिन परिचालन गरी पहिरो पन्छाउने काम सुरू भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
यद्यपि ढुंगा झर्ने क्रम अझैसम्म पनि रोकिएको छैन । चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइन खोलानेर शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ । शुक्रबार रातिदेखि नै सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन् । अहिले पनि सडकमा धेरै सवारी साधन र मानिसहरू अलपत्र छन् ।
राजमार्गको दुबैतर्फ सवारी साधनको लामो लाइन लागेको छ । दशैँको मुखमा काठमाडौं उपत्यकाबाट गृह जिल्लातर्फ जान दुईदिनमा टिकट काटेका यात्रुहरूको सङ्ख्या २० हजारभन्दा बढी रहेको र उनीहरू सबै अलपत्र परेका यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बाटोको अवस्था अनिश्चित रहेकोले यात्रुहरूलाई ठुलो जोखिममा नपर्न आग्रह गर्नुभएको छ । उहाँले टिकटको बिक्री तत्कालका लागि रोकिएको र अहिलेको अवस्थामा थप टिकट दिन नसकिने पनि स्पष्ट पार्नुभएको छ ।
यस्तै, सडक डिभिजन कार्यालय भरतपुरले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएकाले वैकल्पिक बाटो प्रयोग गर्न सुझाव दिएको छ । विकल्पमा नौबिसे–दामन–हेटौंडा र मुग्लिन–भिमाद–डेढगाउँं–गैंडाकोट अर्थात् कालीगण्डकी करिडोर प्रयोग गर्न सकिने कार्यालयको भनाइ छ ।





