प्रधानमन्त्री कप भलिबल फागुनमा | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८२, आइतबार

प्रधानमन्त्री कप भलिबल फागुनमा

काठमाडौँ ,  १३ माघ । प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको पाँचौं संस्करण फागुन ३ देखि ७ सम्म नेपालगन्ज रंगलशालास्थित कभर्डहलमा हुने भएको छ।

आयोजक बाँके जिल्ला भलिबल संघले हरेक वर्ष गर्दै आएको प्रतियोगिताको तयारी तीव्र बनाइएको जनाएको छ।यसवर्ष प्रतियोगिताको पुरस्कार राशि दोब्बर वृद्धि गरिएको छ। विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ जित्ने छन्। तेस्रो हुने टिमले ५० हजार पाउने छ। प्रतियोगितामा भारत र बंगलादेशसहित ७ टिमको सहभागिता रहने आयोजकले जनाएको छ। बंगलादेशी टिमले पहिलोपल्ट भाग लिन लागेको हो। नेपालका नेपाल एपीएफ क्लब, पुलिस क्लब, न्यु डायमन्ड एकेडेमी, पश्चिमाञ्चल टिम पोखरा र आयोजक टिमले भाग लिने छन्। पहिलो संस्करणमा पुलिस र दोस्रोमा एपीएफ च्याम्पियन हुँदा तेस्रो र चोथौ संस्करण रेलवे टिम कोलकाताले जितेको थियो। विधागत उत्कृष्ट खेलाडीले पनि पुरस्कार पाउने छन्।

आयोजना र व्यवस्थापनका हिसाबले प्रतियोगिता नेपाली भलिबलको ठूलो प्रतियोगिताका रूपमा स्थापित भइसकेको आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले दाबी गरे। उनका अनुसार ‘सीमामा सद्भाव’ मूल नारासहित प्रतियोगिता हुँदै आएको छ। मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले यो प्रतियोगितालाई ‘मिसन आठौं राष्ट्रिय खेलकुद’ का रूपमा लिइएको बताए। राखेप सदस्य एवं आठौं राष्ट्रिय खेलकुद तयारी समितिका संयोजक विनोद मैनालीले प्रतियोगिताले आठौं राष्ट्रिय खेलकुदको तयारीमा सघाउ पुग्ने बताए।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।