काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएकाहरुको पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले पूर्ण रुपमा पहिचान भई परिवारले दाबी गरेको शव समेत सरकारले हस्तान्तरण गर्न नमानेको गुनासो पीडित परिवारले गरिरहेको बताउनु भयो । उहाँले व्यवस्थापन गरिसकिएका शवको डीएनए रिपोर्ट आउन ढिलाइ भइरहेकोप्रति पनि आपत्ति जनाउनु भयो । उहाँकाअनुसार डीएनए परीक्षणका लागि प्रहरी अस्पतालमा रगतको नमूना दिएको १५ दिन बितिसक्दा पनि रिपोर्ट आएको छैन । उहाँले सबै शवको डीएनए रिपोर्ट एकैपटक निकाल्ने तयारी गरिएकाले समय लाग्ने जानकारी पीडित परिवारले पाएको समेत बताउनु भयो । उहाँले अनुहारसहित स्पष्ट रुपमा पहिचान भइसकेको शव परिवारलाई हस्तान्तरण गरिनुपर्ने बताउनु भयो ।
डीएनए परीक्षण अनिवार्य भए रिपोर्ट छिटो उपलब्ध गराउने व्यवस्था गर्न ओलीले सरकारको ध्यानाकर्षण गराउनु भयो ।




