युएस बंगला दुर्घटना : मृतकको पोस्टमार्टम सकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

युएस बंगला दुर्घटना : मृतकको पोस्टमार्टम सकियो

death body

काठमाडौं, ३ चैत । युएस बंगला विमान दुर्घटनामा परी मृत्यु भएका ४९ जनाको पोस्टमार्टम सकिएको छ । त्रिभुवन विश्वविद्यालय फरेन्सिक मेडिसिन विभागले पाँच दिन लगाएर शुक्रबार शवको पोस्टमार्टम सकेको हो । सबैको पोस्टमार्टम भए पनि सनाखत भने हुन सकेको छैन । ‘शवहरू चिन्न नसक्ने अवस्थामा छन्,’ विभागका डा. रिजन श्रेष्ठले भने, ‘त्यसैले कसको हो भनेर सनाखत गर्न सक्ने अवस्था छैन ।’

विभागका १३ कर्मचारीले पोस्टमार्टम गरी सनाखतका लागि ४९ वटै शवको नमुना संकलनको काम सकेको छ । श्रेष्ठका अनुसार मृतकका परिवारले दिएको हुलियाका आधारमा शवको म्याचिङ सुरु भएको छ । ‘पाँच दिन लगाएर शवका नमुना संकलन गर्ने कार्य सकियो । परिवारले दिएको हुलियालाई हामीले निकालेको नमुनासँग मेल खान्छ–खाँदैन हेर्नेछौँ । म्याच भएमा परिवारका सदस्यलाई जिम्मा लगाउनेछौँ,’ उनले भने ।

आइतबारसम्म शव हस्तान्तरण
कोठी, खत, दाँतको बनावट, नङको आकार, पुरानो अप्रेसन गरेका चिह्नलगायत हुलियाबाट चिकित्सकहरूले शवको वास्तविक पहिचान गर्नेछन् । परिवारले दिएको विवरणसँग चिकित्सकले निकालेको नमुना मिलेमा मात्रै परिवारले शव बुझ्न पाउनेछन् । सबैको हुलिया मिलेमा आइतबार परिवारलाई शव बुझाउने विभागले जनाएको छ । डा. श्रेष्ठका अनुसार १० वटा शव चिन्न नसक्ने अवथामा छन् । २३ वटाको फिंगर प्रिन्टसमेत लिइएको छ । ‘फिंगर प्रिन्टसमेत पत्ता लगाउन नसके डिएनए जाँच गर्नेछौँ,’ उनले भने ।

यो खबर आजको नयाँ पत्रीका मा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);