काठमाडौं । सरकारले रसुवा बाढीबाट प्रभावित १५ स्थानीय तहलाई उद्धार, राहत तथा पुनस्र्थापनामा उच्च प्राथमिकतामा राखेर काम गर्ने भएको छ ।
सरकारले प्रभावित १५ पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेर उद्धार, खोज तथा राहतका सबै कामलाई प्राथमिकताका साथ अघि बढाएको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो । प्रभावित क्षेत्रमा तत्काल सार्वजनिक सेवा र लाइफलाइन पूर्वाधार पुनस्र्थापनामा जोड दिइने उहाँले बताउनु भयो । विद्युत, दूरसञ्चार तथा सञ्चार टावर, सडक र खानेपानीलगायत दैनिक जीवनयापनका लागि आवश्यक संरचना तत्काल मर्मत तथा पुनस्र्थापना गरिने उहाँको भनाइ छ । त्यससँगै अस्थायी आवास, निजी आवास निर्माण तथा दीर्घकालीन पुनर्निर्माण र पुनःस्थापनाका काम अघि बढाइने उहाँले जानकारी दिनुभयो । तत्कालीन व्यवस्थापनका लागि नुवाकोट र रसुवालाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ बुधवार नै रकम जिल्लामा पठाईएको उहाँले बताउनु भयो । उक्त रकम जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (डीओसीसी) मार्फत आवश्यकताअनुसार खर्च गर्न सकिने गरी अधिकार प्रत्यायोजन गरिएको महतले बताउनु भयो ।
सरकारले रसुवा, नुवाकोट र धादिङका १५ स्थानिय तहलाई ३ महिनाको लागि संकटग्रस्त घोषणा गरेको विपद् व्यवस्थापनको काम गरिरहेको उहाँको भनाई छ । उहाँले प्रभावित क्षेत्रमा १० ट्रक राहत सामग्री पठाइएको जानकारी दिनुभयो । राहत सामग्रीलाई धादिङ र नुवाकोटमा भण्डारण गरी आवश्यकताअनुसार प्रभावित क्षेत्रमा पठाउने व्यवस्था गरिएको छ । रसुवामा भौगोलिक कठिनाइका कारण राहत सामग्री पु¥याउन केही समस्या देखिएको उहाँले बताउनु भयो । उहाँकाअनुसार विभिन्न गैरसरकारी संस्थालाई समेत आवश्यकताअनुसार प्रभावित क्षेत्रमा परिचालन गर्ने तयारी भइरहेको छ । उद्धार तथा राहतका लागि प्राधिकरणले तीनवटै सुरक्षा निकायसँग समन्वय गरिरहेको उहाँले जानकारी दिनुभयो । स्थानीय तह तथा जिल्ला प्रशासनबाट आएको आवश्यकताका आधारमा हेलिकप्टर परिचालन गरिएको छ ।
हालसम्म प्राप्त विवरणअनुसार बाढीपहिरोमा ७३ जना घाइते भएको उहाँले जानकारी दिनुभयो । रसुवामा ४३, नुवाकोटमा २७ र धादिङमा ३ जना घाइते भएको हुन् । सामान्य घाइतेको स्थानीय अस्पतालमै उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याएर वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सैनिक अस्पताल, नर्भिक तथा सिभिल अस्पताललगायतमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले घाइतेको निःशुल्क उपचार गर्ने तथा सरकारी, निजी र अन्य अस्पताललाई आवश्यक शैय्या तयारी अवस्थामा राख्न निर्देशन दिएको उहाँको भनाई छ । मृतकका परिवारलाई नियमअनुसार तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि सरकारले गरिसकेको उहाँले बताउनु भयो । यसैबीच कैलाश मानसरोवर यात्रामा गएका करिब २०० जना सम्पर्कविहीन भएको विषयमा समेत खोजी तथा समन्वय भइरहेको प्राधिकरणले जनाएको छ । बाढीका कारण नेपाल टेलिकम र एनसेलका टावरमा क्षति पुगेकाले कतिपय व्यक्ति सुरक्षित भएपनि सञ्चार सम्पर्कमा आउन नसकेको प्राधिकरणले जनाएको छ ।




