‘वर्क पर्मिट’मा पठाइदिने भन्दै कन्सल्टेन्सीबाट ठगी | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

‘वर्क पर्मिट’मा पठाइदिने भन्दै कन्सल्टेन्सीबाट ठगी

काठमाडौं, १३ माघ । शिक्षा मन्त्रालयले शैक्षिक परामर्शका नाममा विद्यार्थी ठगी गर्ने दुई कन्सल्टेन्सी बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयले क्यानाडाको वर्क पर्मिट देखाएर पैसा माग्ने तथा आइइएलटिएसमा ठगी गर्ने दुई कन्सल्टेन्सी बन्द गर्ने निर्णय गरेको हो ।

पुतलीसडकस्थित वेब्स्टर एजुकेसन नेटवर्क प्रालिले ६ जनालाई वर्क पर्मिट लेटर देखाएर त्यसका आधारमा कन्सल्टेन्सीका सिइओ जनकबहादुर वाइवाको व्यक्तिगत खातामा पैसा जम्मा गर्न लगाई ठगी गरेको उजुरी परेको थियो । मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका अधिकृत तारानाथ निरौलाका अनुसार ६ जनाको उजुरीका आधारमा ठगी गरेको पाइएपछि सो कन्सल्टेन्सी बन्द तथा कारबाही गर्नका लागि महानगरीय अपराध महाशाखालाई पत्राचार गरिएको छ । मन्त्रालयले गत ८ माघमा महाशाखालाई पत्राचार गरेको हो । सो कन्सल्टेन्सीले शिक्षा मन्त्रालयमा आवेदन दर्ता गरे पनि सञ्चालनका लागि स्वीकृति पाएको थिएन ।

बानेश्वरस्थित वल्र्डवाइड एजुकेसन कन्सल्टेन्सीमाथि पनि शिक्षा मन्त्रालयले कारबाहीको पक्रिया अघि बढाएको छ । सो कन्सल्टेन्सीका सञ्चालक सुरज लामासहितको संलग्नतामा आइइएलटिएसको प्रश्नपत्र आउट गरेकोमा प्रहरीबाट अनुसन्धान भइरहेको भन्दै मन्त्रालयले निलम्बन गर्ने माइनुट तयार गरेको छ । अहिले निलम्बन गरी सो कन्सल्टेन्सीबाट कुनै काम नगर्न र सेवाग्राहीलाई सेवा नलिन आग्रहसमेत गरेको छ । यो कन्सल्टेन्सीले शिक्षा मन्त्रालयबाट स्वीकृति लिएको थियो ।

आफ्नै खातामा रकम
शिक्षा मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले महानगरीय अपराध महाशाखालाई लेखेको पत्रमा वेब्स्टर एजुकेसनले ठगी धन्दा गरेकोले संस्थाको दर्ता खारेज गर्ने सचिवस्तरीय निर्णय भएको उल्लेख छ । पत्रमा ‘कन्सल्टेन्सीहरूले अध्ययनबाहेक अन्य प्रयोजनका लागि विदेश पठाउन वा परामर्श दिन नपाइने जस्ता प्रावधानविपरीत उक्त संस्थाले अध्ययनका लागि नभई कामका लागि विदेश पठाउने गरेको, शिक्षा मन्त्रालयबाट जारी एनओसीका आधारमा बैंकमार्फत रकम नपठाई व्यक्तिगत खातामा जम्मा गर्न लगाएको’ उल्लेख छ । त्यसैगरी, संस्था अनुगमनका क्रममा आवश्यक कागजातहरू देखाउन नसकेको तथा परामर्श सेवाका लागि आवश्यक जनशक्तिको समेत व्यवस्था नरहेको र ठगी धन्दामा उद्यत रहेको पत्रमा उल्लेख छ ।

कम्पनीको नाम परिवर्तन गर्दै गैरकानुनी काम
नेपाल वल्र्डवाइड एजुकेसन कन्सल्टेन्सीले नाम परिवर्तन गर्दै अवैधानिक काम गर्दै आएको शिक्षा मन्त्रालयका अधिकारीको भनाइ छ । मन्त्रालयका अनुसार सो संस्थाले गत १५ भदौमा कम्पनी रजिस्ट्रारको कार्यालयबाट नाम परिवर्तन गराएको छ । पहिले एउटा संस्थाको नामबाट काम गर्ने र आफ्ना कामले बदनाम भएपछि तिनै व्यक्तिले संस्थाको नाम परिवर्तन गरी काम सुचारु गर्ने प्रवृत्ति रहेको मन्त्रालयका अधिकारीको गुनासो छ ।

मासिक ६० नयाँ कन्सल्टेन्सी
शिक्षा मन्त्रालयका शाखाअधिकृत तारानाथ निरौलाका अनुसार दिनमा औसत दुईवटा नयाँ कन्सल्टेन्सी दर्ताका लागि आउने गरेका छन् । कन्सल्टेन्सी खोल्नेक्रम बढेको निरौलाले बताए । शिक्षा मन्त्रालयमा झन्डै दुई हजारले आवेदन दर्ता गरेकामा अहिलेसम्म एक हजार चार सय तीनवटा संस्थाले स्वीकृति पाएका छन् । आवेदन दर्ता गरेका करिब ६ कन्सल्टेन्सीको कागजात अध्ययन र अनुगमनको काम भइरहेको मन्त्रालयले जनाएको छ ।

यो खबर आजको नयाँ पत्रीकामा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);