पुष्कर भट्ट ||
कञ्चनपुर,असोज २३ ||
कञ्चनपुरको बेलौरी नगरपालिकाले लागु औषध विरुद्धको महाअभियान सञ्चालन गर्ने भएको छ । नगरपालिकाले पत्रकार सम्मेलनमार्फत यही असोज २६ गतेदेखि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी लागु औषध विरुद्धको महाअभियान सञ्चालन गरिने जनाएको हो ।
भारतीय सीमासँग जोडिएको पालिका हुनाले पनि लागु औषधका प्रयोगकर्ता एवम् व्यापारीहरूले खुला सीमा क्षेत्रको प्रयोग गर्ने भएकोले बेलौरी नगरपालिका प्रत्यक्ष रूपमा प्रभावित भई बदनाम भइरहेको नगर प्रमुख पोतिलाल चौधरीले बताए ।
नगर प्रमुख चौधरीका अनुसार लागुऔषध दुर्व्यसनी रोकथामका गर्न नागरिक सचेतनाका लागि अभियान गर्न लागिएको हो । बेलौरी नगरपालिका कार्यालय र इलाका प्रहरी कार्यालय बेलौरीको संयुक्त आयोजनामा यही असोज २६ गतेका दिन बेलौरीको खुलामञ्चमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह सहितका विशिष्ट व्यक्ति समेतको उपस्थितिमा लागु औषध विरुद्धको महाअभियान शुभारम्भ गरिने भएको हो ।
पछिल्लो समय लागु औषधको बजार माग बढ्दै गएकोले त्यसलाई कम गर्न, त्यसबाट हुने असर र क्षतिबारे जनचेतना प्रवाह गरी प्रयोग र ओसारपसारमा न्यूनीकरण गर्न उक्त अभियान सञ्चालन गर्न आवश्यक रहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरीप्रसाद जैशीले बताए ।
विगत ५ वर्षमा बेलौरी नगरपालिका क्षेत्रबाट लगभग दुई सय जना लागु औषधका प्रयोगकर्ता र कारोबारी पक्राउ परेका छन भने ती मध्ये ९१ जनालाई त मुद्दा चलाई कैद सजाय भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।