विवेक विश्वकर्मा २८ चैत भैरहवा । नेपालमा रहेका पर्यटकिय क्षेत्रको प्रवद्र्धनको लागी बिदेशमा रहेका नेपालीहरुले चासो देखाए पनि नेपालकै सरोकारवाला निकायहरुले चासो नदेखाएको पाईएको छ । लुम्बिनी बिकासको लागी स्थापना भएको लुम्बिनी बिकास कोषले नै ध्यान नदिदा अन्र्तराष्ट्रिय जगतमा नराम्रो सन्देश फैलिदै गएको सरोकारवालाहरुको भनाई छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी अहिले अब्यवस्थित, फोहोर र बिभिन्न अनियमित क्रियाकलापहरुको चपेटामा परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारीकै भनाई छ ।
गैर आवासीय नेपाली र नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा लुम्बिनीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहले मुलुकमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरु मध्ये लुम्बिनी गुरु योजना सबै भन्दा कमजोर र फितलो रहेको दावी गरे । प्रजिअ सिंहले लुम्बिनी बिकासको नाममा कुरा मात्र ठूला ठूला हुने गरेको र काम केही नगरेको लुम्बिनी बिकास कोषका पदाधिकारीहरुलाई आरोप समेत लगाए ।
उनले बिकास कोषमा आउने पदाधिकारीहरु आफुलाई मन्त्री र राज्यमन्त्रीको दर्जाको माने पनि कामको लागी केही पहल नगरेको बताए । कार्यक्रममा रहेका लुम्बिनी बिकास कोषमा कोषाध्यक्ष एवम निमित्त उपाध्यक्ष सुरेन्द्र मुन शाक्य तर्फ ईगिंत गर्दै उनले कोषका पदाधिकारी लुम्बिनी बिकासमा ध्यान नदिएको आरोप लगाए ।