काठमाडौं ।
महिलाहरुका लागि सवारी चालक तालिम शुरु गरिएको छ । पर्यटकहरुको सवारी चालक चलाउने दक्षता अभिवृद्धि हुनेगरी उनीहरुलाई बिहीवारबाट काठमाडांैको बुढानीलकण्ठमा उक्त तालिम दिन शुरु गरिएको हो । पर्यटन क्षेत्रको सेवालाई गुणस्तरीय बनाउनका लागि महिलालाई पनि पर्यटकीय सवारी चालक बनाउने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको दिगो पर्यटन परियोजनाका राष्ट्रिय परियोजना संयोजक केवी शाहले बताउनु भयो । उहाँले नेपालको पर्यटन क्षेत्रमा गुणस्तरीय सेवा दिनका लागि महिलाहरुको योगदान महत्वपूर्ण हुनेमा आफूहरु आशावादी रहेको पनि बताउनु भयो ।
यसैबीच तालिममा सहभागी प्रशिक्षार्थीहरुले सवारी चालक तालिममा सहभागी हुन पाएको खुशी व्यक्त गरेका छन् । भक्तपुरबाट सहभागी हुनुभएकी जुनु शाहले उक्त तालिमले आफूहरुलाई दक्ष बनाउने विश्वास व्यक्त गर्दै आयोजक संस्थाहरु प्रति आभार व्यक्त गर्नुभयो ।परियोजनाले नेपाल पर्यटक यातायात व्यवसाय संघसँगको सहकार्यमा उक्त तालिम सञ्चालन गरेको हो । ३० दिनसम्म चल्ने तालिममा देशका विभिन्न भागमा ३८ जना महिलाहरु सहभागी भएका छन् । पर्यटन क्षेत्रको सेवालाई गुणस्तरीय बनाउनका लागि महिलाहरुको दक्षता अभिवृद्धि गर्न उक्त तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरिएको पनि दिगो पर्यटन परियोजनाले जनाएको छ ।




