सशस्त्र प्रहरीमा आर्थिक सुशासन र सीमा सुरक्षालाई प्राथमिकता दिने महानिरीक्षक पौडेलको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८३, बिहीबार

सशस्त्र प्रहरीमा आर्थिक सुशासन र सीमा सुरक्षालाई प्राथमिकता दिने महानिरीक्षक पौडेलको प्रतिवद्धता

काठमाडौं ।

सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सीमा सुरक्षा, विपद् व्यवस्थापन र आर्थिक सुशासनलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको बताउनुभएको छ ।
बिहीवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सङ्गठनको छवि सुधार्न र जनअपेक्षाअनुसार नतिजा दिन आफू क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । सीमा सुरक्षाको सन्दर्भमा महानिरीक्षक पौडेलले जनशक्ति र प्रविधिको चुनौतीका बाबजुद थप प्रभावकारी परिचालन गर्ने बताउनु भयो । उहाँले सीमा नाकामा हुने नागरिकको आवतजावतलाई सहज बनाउन र सीमा अपराध नियन्त्रण गर्न ‘बोर्डर इन्टरयाक्सन टिम’ को अवधारणा ल्याइएको जानकारी दिनुभयो । राजश्व चुहावट नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै महानिरीक्षक पौडेलले सङ्गठनभित्र आर्थिक सुशासन र पारदर्शिताका लागि ‘जिरो टोलरेन्स’ (शुन्य सहनशीलता) को नीति लिइने स्पष्ट पार्नुभयो ।

सङ्गठनभित्र हुनसक्ने आर्थिक अनियमिततासम्बन्धी गुनासोहरूको समयमै निराकरण गरी संरचनागत सुधारमा जोड दिने उहाँको भनाइ छ । सङ्गठनको नीतिगत र संरचनागत विकासका लागि ‘नीति अनुसन्धान तथा योजना निर्देशनालय’ लाई स्तरोन्नति गरी कार्य प्रारम्भ गरिएको उहाँले जानकारी दिनुभयो । यस निर्देशनालयले सशस्त्र प्रहरीको म्यान्डेट र जिम्मेवारीलाई भविष्यमा थप प्रभावकारी बनाउन अध्ययन, अनुसन्धान र योजना निर्माणमा केन्द्रित रहने बताइएको छ । विपद् व्यवस्थापनका क्षेत्रमा सङ्गठनले स्थापनाकालदेखि नै महत्वपूर्ण भुमिका खेल्दै आएको स्मरण गर्दै उहाँले हाल पूर्ण तयारीका साथ प्रतिकार्य योजना बनाएर समन्वयका साथ अगाडि बढिरहेको बताउनु भयो । साथै, सूचना प्रविधि र सञ्चार क्षेत्रलाई समयसापेक्ष रूपमा स्तरोन्नति गर्ने कार्य भइरहेको उहाँले उल्लेख गर्नुभयो । महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल सम्बन्धी नयाँ कानस्न निर्माणको प्रक्रियामा रहेको जानकारी दिँदै कानूनी र नीतिगत स्पष्टताका लागि सरोकारवाला पक्षहरूबाट रचनात्मक सुझावको अपेक्षा गर्नुभयो । उहाँले दुई दशक लामो इतिहास बोकेको सङ्गठनलाई विद्यमान संरचनाकै जगमा अझ बढी नतिजामुखी बनाउन आफू केन्द्रित रहने बताउनु भयो ।

Leave a Reply