काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलप्रति विद्यार्थीले असन्तुष्टी जनाएका छन् । बिहीवार विधार्थीले परीक्षाफलको विश्वसनीयप्रति प्रश्न उठाउँदै माईतीघरमा धर्नामा दिएका हुन् । आफूहरूले परीक्षा राम्रो दिएपनि अपेक्षा गरेकोभन्दा निकै कम ग्रेड प्राप्त गरेको उनीहरुको गुनासो छ । उनीहरुले उत्तरपुस्तिका फेरि परीक्षण गर्नुपर्ने माग राखेका छन् । विद्यार्थी रञ्जित कार्कीले परीक्षामा लेखेअनुसारको अंक नआएको बताउनुभयो । परीक्षाफल छिटो निकाल्ने नाममा मूल्यांकन प्रक्रियामा लापरवाही गरिएको उहाँको आरोप छ । उहाँले कुन मापदण्डको आधारमा एक महिनामै नतिजा सार्वजनिक गरिएको हो ? भन्ने प्रश्न पनि उठाउनु भयो । उहाँले पुनः उत्तरपुस्तिका परीक्षण गर्दा निःशुल्क हुनुपर्ने पनि बताउनु भयो । विद्यार्थीको गल्ती नभएको अवस्थामा पुनः परीक्षणका लागि शुल्क लिनु अन्याय हुने उहाँको भनाई छ ।
विद्यार्थी स्मृति खतिवडाले पनि परीक्षाफलप्रति व्यापक असन्तुष्टि रहेको बताउनु भयो । उत्तिर्ण भएका धेरै विद्यार्थीसमेत आफ्नो नतिजाबाट सन्तुष्ट नरहेको उहाँको भनाई छ । उहाँले केवल नतिजाको पुनः योगले मात्रै समस्या समाधान नहुने बताउँदै उत्तरपुस्तिकाको पुनः जाँच गर्नुपर्ने बताउनु भयो । विद्यार्थीले त्रुटीपूर्ण परिक्षाफल सार्वजानिक गरेर सरकारले विद्यार्थीको मेहनत र भविष्यमाथी खेलवाड गरेको आरोप लगाएका छन् । विद्यार्थीले राष्ट्रिय परिक्षा बोर्डले गर्ने गल्तीमा पनि विद्यार्थीलाई दोषी देखाएर शुल्क असुल गर्ने गरेको आरोप लगाएका छन् । विद्यार्थीलाई अन्याय गर्ने, फेरि आर्थिक भार पनि थप्ने काम बन्द हुनुपर्ने उनीहरुको माग छ । त्रुटीपूर्ण परीक्षाफल सार्वजानिक गरेको कारण केही विद्यार्थीले आत्महत्या समेत गरेको उनीहरुको भनाई छ । आन्दोलनमा सहभागीहरुले १२ वर्षको मेहनत खेर ? यसको जिम्मेवार को ? जवाफ दे ! हाम्रो भविष्य बर्बाद भयो, हामी न्याय खोज्न कहाँ जाउँ ? अनफेयर रिजल्ट, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।




