माईतीघरमा पीडितहरुको धर्नाः फरक पीडा तर माग एउटै न्याय ! | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८३, सोमबार

माईतीघरमा पीडितहरुको धर्नाः फरक पीडा तर माग एउटै न्याय !

काठमाडौं ।

काठमाडौंको माईतीघर मण्डला सरकारलाई खबरदारी गर्ने र आफ्नो माग राख्ने थलोको रुपमा परिचित छ । यही थलोमा यतिबेला विभिन्न घटनाका पीडितहरूको न्यायको माग राख्दै धर्नामा बसेका छन् । धर्नामा बसेका सबैका आ–आफ्नै पीडा छन्, कसैले दुर्घटनापछि उपचार खर्च नपाएर छट्पटाईरहेका छन् भने कोही बलात्कृत भएर अपमानजनक भएर बस्नुपरेको छ । बलात्कार, अन्तरजातीय विवाहका कारण भएको हत्या तथा वर्षौं पुराना मुद्दामा न्याय खोज्दै पीडितहरु माईतीघरको सडकमा पीडकको तस्वीरसहित व्यानार टाँगेर धर्नामा उत्रेका छन् ।सुनसरीको इनरुवा नगरपालिका–६ की देविका खनाल २१ दिनदेखि माईतीघरमा धर्नामा बसिरहनुभएको छ । उहाँले २०८१ सालमा वडाध्यक्ष सुमन थापाले दुर्घटना गराएपछि उपचारको जिम्मेवारी नलिएको आरोप लगाउनु भयो । दुर्घटनापछि स्थानीयवासीले अस्पताल पु¥याए पनि आफूले आवश्यक सहयोग नपाएको उहाँको गुनासो छ । दुर्घटनाका कारण अपाङ्गता भएको उल्लेख गर्दै उहाँले उपचार खर्च, क्षतिपूर्ति तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्नुभएको छ ।

स्थानीय तहदेखि विभिन्न निकायमा न्यायको खोजी गरेपनि सुनुवाइ नभएपछि संघीय सरकारको ढोका ढकढक्याउन माईतीघरमा धर्नामा बस्न बाध्य भएको उहाँको भनाइ छ । पीडितले न्यायका लागि सडकमा आउनुपर्ने अवस्था अन्त्य गर्न सरकारसँग उहाँले आग्रह गर्नुभयो । उहाँले प्रमुख जिल्ला अधिकारीले समेत वडाध्यक्ष थापासंग मिलेर पाँच लाखमा मिल्न आफूलाई दबाब दिएको बताउनु भयो । उहाँले दुर्घटनाको निष्पक्ष छानविन गरि दोषिलाई कारबाही गर्न र पीडितलाई क्षतिपुर्ती दिलाउन सरकारसंग माग गर्नुभयो ।त्यसैगरी, सर्मिला शाही तीन महिनाको शिशु काखमा बोकेर सात दिनदेखि माईतीघरमा धर्ना दिइरहनुभएको छ । आफूलाई शरीर वन्धक बनाएर जबरजस्ती करणी गरिएको आरोप लगाउँदै उहाँले बलात्कारबाट जन्मिएको सन्तानको पालनपोषणको जिम्मेवारी पीडक पक्षले लिनुपर्ने माग राख्नुभएको छ । नेपाल प्रहरीमा कार्यरत रहेका आरोपित हाल जबरजस्ती करणी र शरीर बन्धक सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेको जानकारी दिँदै शाहीले बच्चाको जन्मदर्ता र भविष्यको जिम्मेवारीसमेत पीडक परिवारले वहन गर्नुपर्ने बताउनु भयो ।यता, दलित अधिकारकर्मी प्रकाश टमाटा अन्तरजातीय विवाहका कारण ज्यान गुमाएका अजित मिजारको न्यायका लागि धर्नामा सहभागी हुनुभएको छ । उहाँकाअनुसार काभ्रेका मिजारलाई अन्तरजातीय विवाहकै कारण धादिङमा लगेर हत्या गरिएको थियो ।

घटनामा प्रहरी प्रशासनको समेत लापरबाही रहेको आरोप लगाउँदै उहाँले दशक बितिसक्दा पनि पीडित परिवारले न्याय नपाएको बताउनु भयो । कहिलेसम्म दलितहरु अन्तरजातीय विवाहाको कारण मारिनुपर्ने हो ? उहाँको  प्रश्न छ । अजित मिजारले न्याय नपाउन्जेलसम्म निरन्तर धर्नामा बस्ने उहाँले बताउनु भयो ।माईतीघरमा कृष्णमाया उप्रेती पनि १३ वर्ष अगाडीको बलात्कार मुद्दामा न्यायको माग गर्दै धर्नामा बस्नुभएको छ । सर्वोच्च अदालतले समेत आफूलाई उचित न्याय नदिएको उहाँको गुनासो छ । नेत्रप्रसाद तिमिल्सिनाले २०७० सालमा आफूमाथी बलात्कार गरेको बताउनु भयो । आफूले न्याय नपाएसम्म माईतीघरमा नै धर्नामा बसिरहने उहाँको भनाई छ । उहाँले न्याय नपाए आफू आत्महत्या गर्ने र त्यसको जिम्मेवार अदालत र सरकार हुनुपर्ने बताउनु भयो । पीडितले आफ्नो गोपनियताको हकलाई समेत त्यागेर माईतीघरमा न्यायको लागी धर्नामा बस्नुपर्ने स्थिति आउनुले पनि नेपालमा न्यायको स्थिति कस्तो छ भन्ने प्रष्ट पार्ने उहाँको भनाई छ । उहाँले आफू हरेक स्थानमा अपमानित हुनुपरेको बताउनु भयो । पीडित अपमानित हुने स्थितिको अन्त्य हुनुपर्ने उहाँको माग छ । माईतीघरमा धर्ना दिनेहरुको कथा फरक छन्, पीडा फरक छ, तर माग एउटै छ – निष्पक्ष न्याय । माईतीघरमा धर्नामा बसेकाहरुको आवाज प्रतिनिधि सभामा प्रवेश पाएको छ । मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले विभिन्न माग राखेर धर्नामा बसेका पीडितहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

Leave a Reply