काठमाडौं । आज लुम्बिनी प्रदेशले तेस्रो मुख्यमन्त्री पाउँदै छ । सत्तारुढ दल नेकपा (एमाले)का लिला गिरीले आज लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन् । एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरीले आज मुख्यमन्त्रीमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गर्ने छन् ।
शेरचनले पुस २७ गते ४ बजेभित्र भित्र प्रदेश सरकारको नेतृत्वको लागि दाबी पेश गर्न आह्वान गरेका थिए । गिरीले सत्तागठबन्धनको समर्थनमा सरकारको नेतृत्वको दाबी प्रस्तुत गर्न लागेका हुन् ।
गिरीले मंगलबार नै दाबी पेश गर्ने तयारी गरेपनि बैठकमा सत्ता साझेदार दलको उपस्थित नभएकोले प्रदेश प्रमुखसमक्ष पेश नभएको हो । माओवादी केन्द्रले मुख्यमन्त्रीको कार्यकाल आधा÷आधा हुुनुपर्ने अडान लिएको थियो ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४४ सांसदको समर्थन आवश्यक हुन्छ । एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपाका ३ र जनमत पार्टीका ३ सांसद छन् ।
केन्द्रीय सत्ता गठन्धनको सहमतिअनुसार लुम्बिनी प्रदेशमा एमालेले पुरै पाँच वर्ष नेतृत्व लिनेछ ।