एजेन्सी, २२ चैत। कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै बंगलादेशमा एक हप्ते लकडाउन घोषणा गरिएको छ ।
स्थानीय समयअनुसार यही अप्रिल ५ देखि लागू हुनेगरी सरकारले लकडाउनको घोषणा गरिएको हो । बंगलादेशका सडक, यातायात तथा पुलमन्त्री अब्दुल क्वाडरले पत्रकार सम्मेलन मार्फत लकडाउन घोषणा गरिएको जानकारी दिएका हुन् ।
लकडाउनका लागि नयाँ निर्देशिका सरकारले चाँडै नै घोषणा गर्ने सार्वजनिक प्रशासन मन्त्री फहाद हुसेनको भनाई छ ।
अत्यावश्यक लगायतका कतिपय सेवा भने लकडाउनका बेलामा पनि सुचारु हुन सक्ने अधिकारीहरुले बताएका छन् । बंगलादेशमा अहिलेसम्म ६ लाख ३० हजार २ सय ७७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये ५ हजार ६ सय ८३ जना पछिल्लो एकैदिनमा संक्रमित भएका हुन् ।
पछिल्लो २४ घण्टामा बङ्लादेशमा कोरोनाकै कारण मात्रै ५८ जनाको मृत्यु भएको छ । योसँगै बङ्लादेशमा कोरोनाकै कारण मृत्यु भएकाहरुको कूल संख्या ९ हजार २ सय १३ पुगेको अधिकारीहरुले जनाएका छन् ।
स्वास्थ्य सेवा महानिर्देशनालयले पछिल्लो एक दिनमा २४ हजार ५ सय ४८ जनाको कोरोना परीक्षण गरेको जनाएको छ ।