एजेन्सी,१० मंसिर। स्पेनको बार्सिलोना र इटालीको युभेन्ट्स युरोपीयन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छन् । मंगलबार राति भएको खेलमा बार्सिलोनाले युक्रेनको डिनाभो किभलाई ४–० गोल अन्तरले हराउदै पहिलो भएर नकआउट चरणमा पुगेको हो ।
किभको मैदानमा मार्टिन ब्रेथवेटको २ तथा सर्जिनो डेस्ट र एन्टोनी ग्रिजम्यानको १–१ गोलसंगै बार्सिलोनाले युक्रेनको डिनाभो किभलाई ४–० गोल अन्तरले हराएको हो । यसैगरी हंगेरीको एफटिसीलाई २–१ गोल अन्तरले पराजित गर्दै युभेन्ट्स अन्तिम १६ मा पुगेको हो ।
घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले एक एक गोल गरे । एफटिसीका म्यर्टो युज्नीले एक गोल फर्काए । एलिनाज स्टेडियममा सुरुवाती १ गोलको अग्रता उल्टाएर युभेन्ट्सले जित निकालेको हो ।
समूह जीका ४ खेलमा बार्सिलोनाले १२ र युभेन्ट्सले ९ अंक जोडेर नकआउट चरणमा स्थान सुरक्षित गरेका हुन् ।