कोरोनाको महामारीबीच करिब डेढ खर्बको कृषि तथा गैरकृषि वस्तु आयात | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

कोरोनाको महामारीबीच करिब डेढ खर्बको कृषि तथा गैरकृषि वस्तु आयात

birjung naka aayat

प्रमिला खतिवडा
काठमाडौं,१३ असार । कोरोनाका कारण आर्थिक क्षेत्र पनि प्रभावित भएको छ । लकडाउनका कारण आन्तरिक उत्पादन दर पनि घट्दो छ । लकडाउन अवधिमा अधिकांश आर्थिक गतिविधि सुस्त भएपनि आयातको दर घटेको छैन । आन्तरिक उत्पादनले बजार अभाव झेलिरहेको बेला बाह्य आयात घटेको छैन । लकडाउनको अवधिमा पनि कृषि तथा गैरकृषि वस्तुको आयात बढेको छ । लकडाउन अवधिमा करिब डेढ खर्बको आयात भएको छ ।

लकडाउको तीन महिना अवधिमा करिब डेढ खर्ब कृषि तथा गैरकृषिजन्य वस्तु आयात भएको छ । भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा १ खर्ब ३४ अर्ब ६० करोड ८५ लाख १३ हजार रुपैयाको आयात भएको हो । यो अवधिमा सरदर आयात ७८ हजार २ सय ३२ मेट्रिकटन दलहन, ९९ हजार ३ सय ३७ मेट्रिकटन तरकारी, ३१ लाख २१ हजार १ सय ५५ मेट्रिकटन खाधान्न आयात भएकोछ ।

त्यसैगरी ११ हजार ४ सय ५५ मेट्रिकटन दुधजन्य पदार्थ, ४ अर्ब ५८ करोड ३३ लाख ४८ हजार रुपैया बराबरको तयारी औषधी आयात भएकोछ । औषधिकै लागि चाहिने कच्चा पदार्थ १ अर्ब ३३ करोड ६६ लाख १५ हजार रुपैया बराबरको दोस्रो मूलुकबाट आयात भएको तथ्यांक भन्सार विभागसंग छ ।

गत आर्थिक वर्ष २०७५-७६ को यहि अवधिमा २ लाख ८१ हजार मेट्रिकटन खाद्यान्न, ९ लाख २५ हजार मेट्रिकटन तरकारी, ९७ हजार मेट्रिकटन फलफूल आयात गरिएकोेछ । त्यसैगरी गत वर्षको सोही अवधिमा १ लाख ९ हजार एल पी ग्यास, ४ लाख ९४ हजार किलोलिटर डिजेल र १ लाख ४९ हजार किलोलिटर पेट्रोल आयात भएको छ । हरेक वर्ष आयातको दर बढेको छ । लकडाउनको यस अवधिमा भएको आयातलाई केलाउदा मुलुक थप परनिर्भर हुदै गएको नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालको भनाई छ ।

सरकारी तथ्यांक अनुसार लकडाउनकै अवधिमा दैनिक उपभोग्य वस्तुको आयातमा सरदर अधिकतम ३८ प्रतिशतले वृद्धि भएकोछ । गत वर्षको यही अवधिको आयात तथ्यांकलाई विश्लेषण गर्दा कृषिजन्य उपजको आयात घट्नुको साटो बढेको देखिन्छ । गैरकृषि अन्तरगतका निमार्ण सामाग्री, मेसिनेरी औजार, औद्यौगिक कच्चा पदार्थ फेन्सी वस्तुको आयातमा कमी भएको नेपाल समुन्दपार निकासी पैठारी संघका महासचिव मदन मित्तलले बताउनु भयो ।

वर्षेनी आयात उकालो लागिरहेको छ । निर्यातको अवस्था कमजोर छ ।आयात निर्यातबीचको ठूलो खाडलको कारण मुलुकले व्यापार घाटा बढीरहेकोले आन्तरिक उत्पादनलाई जोड दिदै आयात प्रतिस्थापनमा जोड दिनुको विकल्प छैन ।