प्रतिनिधि सभाको शून्य समयमा सांसदले के भने ? | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रतिनिधि सभाको शून्य समयमा सांसदले के भने ?

sanghiya samsadh

काठमाडौं, ९ असार । सांसदहरुले कोरोना भाइरस परीक्षण बढाउन, क्वारेन्टीन व्यवस्थित पार्न तथा लकडाउनका कारण असहज भएको दैनिकीलाई सामान्य बनाउन विशेष प्याकेजको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले दैनिक कोरोना भाइरसका संक्रमितको संख्या बढीरहेकाले पिसिआर परीक्षणको दायरा बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । त्यसैगरी क्वारेन्टीनलाई व्यवस्थित बनाउनुको साथै लकडाउन अवधि भरका लागि कर लगायतको छुट सहितको राहत प्याकेजको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद बिमला नेपालीले क्वारेन्टीनमा बलात्कार, गाईगोठमा क्वारन्टीन जस्ता कुराहरु सुनिनु दुखद कुरा भएको भन्दै व्यवस्थिति क्वारेन्टीन बनाउनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार भएको छैन भन्दै प्रधानमन्त्री र रक्षामन्त्रीले अभिव्यक्ति दिदै आएको उल्लेख गर्दै “प्रधानमन्त्री र रक्षामन्त्री यो देशको भ्रष्टाचार छानविन समितिको समेत प्रमख हो ?” भनी प्रश्न गर्नुभयो । उहाँले प्रधानमन्त्री र रक्षामन्त्रीले कानुन हातमा लिने काम गरेको आरोप लगाउनुभयो ।

सांसद मिन बहादुर विश्वकर्माले लकडाउन अवधि भरीको आर्थिक कारोवार र दायित्वबारे सर्वत्र विवाद, वहस र अन्योल देखिएकाले लकडाउन सुरु देखि अन्तिम सम्मको अवधिलाई शुन्य समय मानेर सबै बर्गलाई राहत पुग्ने गरि प्याकेजको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मिना सुब्बाले मृत्यु पछि मात्रै कोरोना परीक्षण गरिने, क्वारेन्टीनमा महिलामाथि बलात्कार हुनु लगायत घटनाले सरकार कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण र रोकथाममा चुकेको देखिएको बताउनुभयो ।

सांसद भैरव बहादुर सिंहले सुदुरपश्चिममा भारतबाट आउने नेपालीहरुको संख्या बढ्दै गएको तर पिसिआर परीक्षणको रिपोर्ट आउन १५ दिन लाग्ने तथा संभावित जोखिम देखिएकाहरुको पनि समयमै परीक्षण हुन नसकेको भन्दै पिसिआर परीक्षणको दायरा बढाउन माग गर्नुभयो ।

सांसद मनकुमारी जि सिले महिलाहरुको लागि छुट्टै क्वारेन्टीनको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद भीमसेन दास प्रधानले कोरोना भाइरसको संक्रमण बढ्दै गएको तर लकडाउन खुकुलो बनाउँदा सवारी साधनहरुको चाप संगै सर्वसाधरणको चहलपहल बढेकाले सनिबार संगै आईतबार पनि सार्वजनिक विदा दिने व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद भरत कुमार शाहले सरकारले नेपाली श्रमिकलाई विदेश पठाउँदा १० हजार र ल्याउँदा १ लाख २२ हजार तोकेको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले खेती लगाउने समयमा मलखादको अभाव भएको भन्दै सर्वसुलभ मलखातको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद बृजेश कुमार गुप्ताले सामुदायिक विद्यालयमा विभिन्न नाममा कार्यकर्ता भर्ना गर्ने काम भएको भन्दै सबै शिक्षकलाई हटाएर स्थानीय शिक्षक नियुक्तिको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद भवानी प्रसाद खापुङ पाँचथर र तेहथुम जिल्लाको बीचका तमोर खोला लगायत स्थानमा लामो समयसम्म पुल बन्न नसकेको उल्लेख गर्दे पुल निर्माण लगायत सुरु गरिएको सडक निर्माण समयमै सम्पन्न गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

सांसह महेश्वर जंग गहतराज अथकले आत्महत्याका घटना र महिला हिंसा र जातिय विभेदका सामाजिक अपराध बढ्ने संभावना देखाएकाले सामाजिक अपराध अन्त्यका लागि सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);