राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक

lockdown ma jaam

काठमाडौं, ५ असार । सरकारले अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ । गृहमन्त्रालयले लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाएको हो ।

कोरोना संक्रमणबाट कम प्रभावित क्षेत्रमा असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको सरकारले हिडडुलमा रोक लगाउने निर्णय गरेको हो । मापदण्ड कडाइका साथ पालना गराउन गृह मन्त्रालयले सुरक्षा निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गर्दै यसलाई व्यवस्थित गर्न सुरक्षा मापदण्ड जारी गर्न गृहलाई निर्देशन दिएको थियो ।

सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखबाहेक ७३ जिल्लाभित्र निजी सवारी साधनमा जोरविजोर प्रणाली कायम गरिएको छ । तर राति खटिएका सुरक्षाकर्मीलाई छलेर एक जिल्लाबाट अर्को जिल्लामा अनुमति बिना यात्रु ओसारपसार हुन थालेपछि सुरक्षा जाँचमा थप कडाई गर्न पनि निर्देशन दिइएको छ ।

मापदण्ड उल्लंघन गर्नेमाथि अत्यावश्यक सेवा ऐन २०१४, संक्रामक रोग रोकथाम तथा नियन्त्रण ऐन २०२०, मुलुकी अपराध संहिता २०७४, स्थानीय प्रशासन ऐन २०२८ र सरकारले जारी गरेका अन्य प्रचलित कानुन बमोजिम कारबाही गर्न पनि निर्देशन दिइएको छ ।

यसैगरी विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायत सामाजिक तथा सांस्कृतिक कार्य तथा गतिविधिमा १५ जनाभन्दा बढी सहभागी हुन नपाउने प्रावधान पनि सुरक्षा मापदण्डमा समेटिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);