भारत-चीन झडप : मृत्यु हुने भारतीय सैनिकको संख्या २० पुग्यो | ईमाउण्टेन समाचार

Our Network

माघ २२ २०७९, आइतबार

भारत-चीन झडप : मृत्यु हुने भारतीय सैनिकको संख्या २० पुग्यो

indian soldiers

एजेन्सी, ३ असार । भारत र चीनबीच लद्दाखको सीमावर्ती क्षेत्रमा भएको झडपमा मृत्यु हुने भारतीय सैनिकको संख्या २० पुगेको छ । सीमा क्षेत्रमा सोमबार राति भएको चिनियाँ सेनासँगको झडपमा आफ्ना एक कमाण्डरसहित २० जना मारिएको भारतीय सेनाले जानकारी दिएको हो ।

लद्दाखको पूर्वी क्षेत्रमा रहेको विवादास्पद सीमा क्षेत्र गलवान उपत्यकामा भएको भिडन्तमा चीनतर्फ कति क्षति भयो भन्ने चीनले केही खुलाएको छैन । भारत सरकारका अनुसार गलवान उपत्यकाको सीमाबाट सैनिक पछि हट्ने क्रममा झडप भएको हो । चीनले भने भारतीय सेना आफ्नो क्षेत्रमा अनधिकृत प्रवेश गर्दा झडप भएको जनाएको छ ।

भारतीय सेनाले मंगलबार वक्तव्य जारी गर्दै झडपको क्रममा थप १७ भारतीय सैनिक गम्भीर घाइते भएका जनाएको छ । यसअघि भारतीय सेनाले सो भिडन्तमा आफ्ना एक सैन्य अधिकारी र दुई जवान मारिएको जनाएको थियो । समस्या समाधानका लागि दुई पक्षका उच्च सैनिक अधिकारीबीच वार्ता भएको पनि बताएको थियो ।

भारत–चीन सीमा रेखा क्षेत्रको गलवान उपत्यकामा पछिल्लो केही समयदेखि दुई देशका सेनाबीच तनाव हुँदै आएको छ । कम्तिमा पछिल्लो ४५ वर्षमा भारत–चीन सीमा विवादलाई लिएर भएको भिडन्तमा पहिलोपटक मानवीय क्षति भएको हो ।