लकडाउनमा पनि त्रिभुवन विमानस्थलको धावनमार्ग निर्माणको काम जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

लकडाउनमा पनि त्रिभुवन विमानस्थलको धावनमार्ग निर्माणको काम जारी

tribhuwanintlairport

काठमाडौँ, ९ वैशाख । लकडाउनका कारण देशका अधिकांश आयोजनाका निर्माण कार्य ठप्प भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणको काम भने रोकिएको छैन । कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले जारी गरेको लक डाउनमा सामाजिक दुरी कायम गर्दै निर्माणको काम भइरहेको हो । ३ हजार ५० मिटर रहेको विमानस्थलको धावनमार्गमा ३ सय मिटर बढाउने गरी काम भइरहेको छ ।

अहिले देश लकडाउनमा छ । लक डाउनका कारण देशका अधिकांश आयोजनाका निर्माण कार्य ठप्प छन । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणको काम भने रोकिएको छैन । धावनमार्ग निर्माण कार्यको अनुगमन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्याप्त सुरक्षा सतर्कता अपनाएर विमानस्थल विस्तारको काम भइरहेको बताउनुभयो । विमानस्थलको क्षमता बढाउन एवं अवतरण र उडानमा थप सुरक्षा प्रत्याभूत गर्ने विषयमा ध्यान दिइएको मन्त्री भट्टराईको भनाई छ । यसैगरी विमानस्थलको ‘डिपार्टिङ वे’को काम पनि भइरहेको छ । जसका कारण आकाशमा धेरै समय होल्ड हुने खालको ट्राफिक जामको समस्या केही हदसम्म समाधान हुने मन्त्री भट्टराईको बिश्वास छ ।

मन्त्रिपरिषद् बैठक र कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितिको निर्णय अनुसार नै काम सुरु भएको मन्त्री भट्टराइको भनाई छ । कामदारहरुलाई मास्क र सेनिटाइजर प्रयोग गर्न दिइएको छ । विमानस्थलभित्रै क्याम्प बनाएर खाने, बस्ने र स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ । निर्माण सामग्री ढुवानी हुँदा समेत कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणमा ध्यान दिइएको मन्त्री भट्टराईले बताउनुभयो ।

अहिलेसम्म १ हजार ५ सय यात्रु क्षमताको प्रस्थान हल निर्माण सम्पन्न भएको छ । हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख मुरारी भण्डारीले लक डाउनका कारण काम गर्न सहज भएको बताउनुभयो । अन्य समयमा विमानस्थल बन्द गरी रातिको समयमा काम गर्नुपर्ने बाध्यता भएपनि लक डाउनका कारण सम्पूर्ण उडान बन्द भएकाले दिउँसो समेत काम गर्ने वातावरण बनेको भण्डारीको भनाई छ ।

२०७७ असार १० गते भित्र सम्पन्न गर्ने गरी २०७५ साल पुस १८ गते निर्माण सम्झौता भए पनि सम्झौता मिति अगावै काम पुरा हुने निर्माण कम्पनीले जनाएको छ । अहिले विमानस्थलमा ९२ जना कामदारले काम गरिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);