एजेन्सी, ९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को आदेश जारी नभएसम्मका लागि अमेरिकामा आप्रवासमा रोक लगाउने घोषणा गर्नुभएको छ । ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आप्रवासी नागरिकमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाउने तात्कालिक आदेशमा छिट्टै हस्ताक्षर गर्ने जनाउनुभएको छ ।
कोरोना भाइरसको संकटका कारण अमेरिकामा सीर्जित बेरोजगारी लगायतका आर्थिक समस्याका कारण ट्रम्पले यस्तो कदम चालेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन । तर यसको प्रक्रिया र मापदण्ड बारे भने स्पष्ट जानकारी दिइएको छैन ।
ट्रम्पले ट्वीटमा अदृश्य दुश्मनको आक्रमणका कारण असहज अवस्था सिर्जना भएको मध्यनजर गर्दै र आफना नागरिकको जागिर बचाउनका लागि अमेरिकामा बाहिरका नागरिकको बसोबासमाथि रोक लगाउने अस्थायी कार्यकारी आदेशमाथि हस्ताक्षर गर्न लागेको उल्लेख छ ।
अमेरिका कोरोना भाइरसको महामारीका कारण आक्रान्त छ। लाखौं अमेरिकी नागरिक बेरोजगार भएका छन् भने अमेरिकी अर्थतन्त्रमा ठूलो धक्का पुगेको छ।