काठमाडौं, २० चैत । विश्व भलिबलको वरियतामा नेपालको महिला भलिबल ८६ औ स्थानमा यथावत रहन सफल भएको छ । अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआइभीबीले बिहिबार सार्वजनिक गरेको विश्व वरीयतामा नेपाली भलिबल ८६ औं स्थानमा यथावत रहेको हो ।
नयाँ वरीयतामा नेपालको ५७ अंक रहेको छ । एफआइभीबीले अन्तर्राष्ट्रिय सहभागिता र सफलताका आधारमा विश्व वरीयता निर्धारण गर्दै आएको छ ।
नेपाली महिला भलिबल टोलीले घरेलु भूमिमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद सागपछि कुनैपनि प्रतियोगिता खेलेको छैन । नेपालको महिला भलिबल टोली एसियाली राष्ट्रको वरियतामा भने १७ औं स्थानमा रहेको छ ।
महिलाको विश्व वरीयताको शीर्ष स्थानमा चीन दोस्रोमा अमेरिका, तेस्रोमा ब्राजिल, चौथोमा इटाली तथा टर्की पाँचौं स्थानमा छन् । पुरुषतर्फ भने नेपाल वरियताक्रमको १ सय ३६ औं स्थानमा रहेको छ ।
पुरुषको वरियतामा ब्राजिल शीर्ष, पोल्याण्ड दोस्रो,अमेरिका तेस्रो, रुस चौथो र अर्जे्न्टिना पाँचौ स्थानमा छन् ।