नेपालका कम्युनिष्टहरुका लागि फागुन २१ महत्वपूर्ण दिन | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

नेपालका कम्युनिष्टहरुका लागि फागुन २१ महत्वपूर्ण दिन

झापा, २१ फागुन । नेपालका कम्युनिष्टहरुले फागुन २१ लाई महत्वपूर्ण दिनका रुपमा लिने गरेका छन् । झापा आन्दोलनका क्रममा २०२९ साल फागुन २१ गते पाँच जना योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुँइकेल र नारायण श्रेष्ठले शहादत प्राप्त गरेको यो दिनलाई कम्युनिष्टहरुले महत्वपूर्ण दिनका रुपमा लिने गरेका हुन् ।

तत्कालीन पञ्चायती व्यवस्थाका विरोधी भन्दै २१ फागुन २०२९ मा झापा आन्दोलनका पाँच योद्धाको इलाम र झापाको सीमानामा पर्ने सुखानीमा गोली हानी हत्या गरियो ।

रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुँइकेल र नारायण श्रेष्ठले शहादत प्राप्त गरको त्यो घटनामा अर्का योद्धा केपी शर्मा ओलीले भारत भागेर ज्यान जोगाउनु भएको थियो ।

नेपाल फर्कने क्रममा गिरफ्तार भएपछि ओलीले १४ वर्षसम्म जेल जीवन बिताउन बाध्य हुनुप-यो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि २०७५ साल फागुन २१ गते कम्युनिष्ट आन्दोलनको जगका रुपमा हेरिएको सुखानीमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जलि सभामा सम्बोधन गुर्नभएको थियो ।

झापा आन्दोलनका योद्धाको स्मरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमा उनीहरुलाई सहिद घोषणा गरेसंगै फागुन २१ को महत्व अझ बढेको हो ।

सुखानी उत्तरी झापा र दक्षिणी इलामको सिमानामा अवस्थित छ । जहाँ झापा आन्दोलनका पाँच सहिदको अर्धकदको सालिक निर्माण गरिएको छ ।

यस वर्षपनि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।

तर, ओलीको स्वास्थ्य अवस्था र कोरोना भाइरसको संक्रमण फैलने त्रासका कारण कार्यक्रम स्थगित गरिएको नेकपा १ नम्वर प्रदेश कमिटीले जनाएको छ । नेकपा झापाले भने सुखानीका सहिदलाई सम्झिएर पुष्पगुच्छा सहित सालिकमा माल्यार्पण गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);