इलाम, २१ फागुन । सहिद स्मारक ’ए’ डिभिजन लिग विजेता मच्छिन्द्र फुटबल क्लब इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
इलामको टुँडिखेलमा बुधबार भएको पहिलो सेमिफाइनलमा मानेभञ्ज्याङ एफसी दार्जिलिङलाई ३–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र फाइनलमा पुगेको हो ।
मच्छिन्द्रको जितमा रेजिन सुब्बाले दुई तथा सोमिडे एडिलाजाले एक गोल गरे । खेलमा १९ औं मिनेटमा रेजिनको गोलबाट मच्छिन्द्रले अग्रता बनाएको थियो । २१ औं मिनेटमा सोमिडेले गोल गर्दै मच्छिन्द्रलाई २–० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८७ औं मिनेटमा रेजिनले व्यक्तिगत दोस्रो गोल गर्दै मच्छिन्द्रलाई ३–० को सहज जित दिलाए । खेलको म्यान अफ दि म्याच मच्छिन्द्रका देबेन्द्र तामाङ चुनिए ।
उनले नगद १० हजार प्राप्त गरे । अब मच्छिन्द्रले उपाधिका लागि आयोजक माईभ्याली र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ । १० टिम सहभागी प्रतियोगिताको विजेताले नगद ८ लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख २५ हजार प्राप्त गर्ने छन् ।