एजेन्सी, १७ फागुन । कोरोना भाइरसको संक्रमणबाट इरानमा कम्तीमा २ सय १० जनाको मृत्यु भइसकेको स्वास्थ्य अधिकारीहरुले दावी गरेका छन् ।
इरानी स्वास्थ्य अधिकारीहरुले शनिबार कोरोना भाइरसको संक्रमणबाट कम्तीमा २ सय १० जनाको मृत्यु भइसकेको दावी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
अधिकांश पीडितहरू राजधानी तेहरानका र सुरूमा भाइरस देखिएको कुम सहरका रहेको बताइएको छ । इरानको स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको संख्याभन्दा यो छ गुणा बढी हो ।
शुुक्रबार इरानको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसबाट ३४ जनाको मृत्यु भएको जानकारी दिएको थियो । यसअघि, कुमबाट निर्वाचित एक सांसदले वास्तविक अवस्था लुकाएको हुनसक्ने बताएका थिए ।
अमेरिकाले पनि इरानले सहि सूचना उपलब्ध नगराएको हुनसक्ने टिप्पणी गरेको थियो । इरान सरकारले शनिबारबाट देशभरका विद्यालयहरूमा तीन दिन बिदा दिने निर्णय गरेको छ ।
दक्षिण कोरियामा १७ को मृत्यु
यसैगरी दक्षिण कोरियामा कोरोना भाइरसबाट मृत्युहुनेको संख्या १७ पुगेको छ । त्यहाँ २ हजार ९ सय ३१ जना भाइरस संक्रमित भएको दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भाइरस ५० मुलुकमा
चीनबाट सुरुभएको कोरोना भाइरस ५० वटा मुलुकसम्म फैलिसकेको विश्व स्वास्थ्य संगठन डब्ल्यु एच ओले जनाएको छ । चीनमा झण्डै २८ सय जनाको ज्यान लिइसकेको कोरोना भाइरसले अहिले इरान र दक्षिण कोरियामा त्रास बनेको छ ।