काठमाडौं, १३ फागुन । प्रमुख प्रतिपक्षी कांग्रेसले भ्रष्टाचार र अनियमितताका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा जवाफ दिनुपर्ने माग गरेको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय मागेर बोल्दै नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले कम्युनिस्ट सरकारका कामलाई देखेर जनता आक्रोशित रहेका भन्दै प्रधानमन्त्री ओलीले संसद्मा जवाफ दिनु पर्ने माग गर्नुभयो ।
सांसद रिजालले वर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेसमा ७० करोड कमिसनका लागि गरेको मोलमोलाइ, नेपाल ट्रष्टको जग्गा यति कम्पनीलाई दिने र बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई प्रभावित पार्ने काम लाजमर्दाे भएको उल्लेख गर्नुभयो ।
त्यसैगरी समाजबादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ दल नेकपा कमिसनबिना अगाडी बढ्न नसक्ने दाबी गर्नुभयो ।
सांसद गिरीले नेकपाले भ्रष्टाचारको परिभाषा नै परिवर्तनको तयारी गरिरहेको आरोप समेत लगाउनुभयो । उहाँले नेकपाले गर्ने भ्रष्टाचार सर्वहारा, दलित, शोषित र पीडितको नाममा हुने अरुले गरेको भ्रष्टाचार भ्रष्टाचार हुने भन्दै प्रश्न गर्नुभयो ।