एमएम कप क्रिकेटको उपाधि त्रिभुवन आर्मीले जित्यो, पुलिस ८५ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८२, शनिबार

एमएम कप क्रिकेटको उपाधि त्रिभुवन आर्मीले जित्यो, पुलिस ८५ रनले पराजित

काठमाडौं, ४ माघ । त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो पटक मनमोहन मेमोरियल एमएम कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

सुनसरीको इनरुवा रंगशालामा शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई ८५ रनले पराजित गर्दै आर्मी लगातार दोस्रो पटक एमएम कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो ।

आर्मीले दिएको १ सय ८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुलिस ३० ओभरमा अलआउट हुँदै ९० रनमा समेटियो । पुलिसलाई ९० रनमा सिमित गर्न आर्मीका सुशन भारीले ४ तथा साहब आलम र कुशल मल्लले २–२ विकेट लिए ।

पुलिसका कुशल भुर्तेलले ३१, अमित श्रेष्ठले २३ र अनिल साहले २१ रन बनाए ।यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ४८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८४ रन बनाएको थियो ।

आर्मीको लागि कप्तान बिनोद भण्डारीले ४० ,राजेश पुलामीले ३१ र राजु रिजालले २२ रन बनाए । पुलिसका सागर ढकाल, दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले ३–३ विकेट लिए । उपाधिसँगै आर्मीले ४ लाख ५ हजार नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता पुलिसले २ लाख ५ हजार प्राप्त गर्यो ।