एजेन्सी, ४ माघ । घरेलु टोली भारतले दोस्रो एकदिवसीय क्रिकेटमा पाहुना टिम अष्ट्रेलियालाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा भारतले अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको हो ।
जितसँगै भारतले तीन खेलको सिरिजमा १–१ को बराबरी गरेको छ । यस अघि भएको पहिलो खेलमा अष्ट्रेलियाले १० विकेटको जित निकालेको थियो ।
भारतले दिएको ३ सय ४१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलिया ४९ ओभर १ बलमा अलआउट हुँदै ३ सय ४ रनमा समेटियो । अष्ट्रेलियाका स्टिभ स्मिथले ९८ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
यस्तै मार्नुसले ४६ रन जोड्दा कप्तान आरोन फिन्चले ३३ रन बनाए । यस्तै एस्टोन अगरले २५ तथा केन रिचर्डसनले अविजित २४ रन बनाए । भारतका मोहमद शामीले ३ विकेट लिए । यस्तै नापदिप शैनी, रबिन्द्र जेडेजा र कुलदिप यादबले २-२ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४० रन बनाएको थियो । भारतका लागि शिखर धवनले ९६ रनको अर्धशतकीय इनिङ्स खेल्दा लोकेश राहुलले ८० रनको अर्धशतकीय इनिङ्स खेले ।
कप्तान विराट कोहलीले ७८ रन बनाउँदा रोहित शर्माले ४२ रन बनाए । अष्ट्रेलियाका एडम जाम्पाले ३ तथा केन रिचर्डसनले २ विकेट लिए ।