राजनीति त्यागेर ड्रागन खेतीमा रमाउँदै पूर्वमन्त्री लोकेन्द्र विष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

राजनीति त्यागेर ड्रागन खेतीमा रमाउँदै पूर्वमन्त्री लोकेन्द्र विष्ट

दाङ, २ माघ । पछिल्लो समय ड्रागन फलको लोकप्रियता बढ्दो छ । यसबाट स्वास्थ्यमा हुने फाइदाहरुको जानकारी पाउन थालेपछि यो फल उत्पादन गर्ने र खानेहरुको संख्या बढेको हो ।

नेपालीहरु कमैले सुनेका ड्रागन फलको खेतीमा लागेर पूर्व पर्यटन तथा स्वास्थ्य मन्त्री लोकेन्द्र विष्ट मगर अहिले चर्चामा हुनुहुन्छ । राजनीतिलाई चटक्कै त्यागेर ड्रागन फल खेतीमा लाग्नु भएका बिष्टको दैनिकी कस्तो छ त ?

राजनीतिलाई त्यागेर व्यवसायीक कृषि पेशामा लाग्नु भएका पूर्वमन्त्री लोकेन्द्र विष्टमगरले दाङको बिजौरीमा ‘रातकी रानी’ भनेर चिनिने ‘ड्रागन फल’ खेतीमा हुनुहुन्छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१८ को बिजौरीमा पूर्व पर्यटन तथा स्वास्थ्यमन्त्री मगरले ६६ कठ्ठा जमिन १५ वर्षका लागि भाडामा लिएर ड्रागन फल खेती गर्नु भएको हो ।

रोपेको डेढदेखि दुई वर्षसम्ममा फल्ने विष्टले ६ महिनामै फलाउनु भएको छ । छिप्पिएको बिरूवा रोपेको हुनाले ६ महिनामै फलेको उहाँले बताउनुभयो । मानव स्वास्थ्यका लागि आवश्यक पौष्टिक तत्व र रोग प्रतिरोधी क्षमता बढाउने औषधीय गुणयुक्त ‘ड्रागन फल’ प्रतिबोट ३ देखि ५ किलो फल्दा करिब ५० क्वीन्टल फल्ने बिष्ट मगरले बताउनुभयो ।

उष्ण प्रदेशीय हावापानी भएको तराई र मध्यतराईमा हुने ड्रागन फलको बजार मूल्य प्रतिकिलो ७ सयदेखि १९ सय रूपैयाँसम्म पुग्ने गरेको छ । दिगो आम्दानी हुने नगदे बाली मानिएको यो फलले मलखाद, काँटछाँट र सिँचाई पुगेको अवस्थामा रोपेको २० वर्षभन्दा बढीसम्म फल दिने गर्दछ । केही महिनादेखि रमाएका पूर्वमन्त्री मगर कृषिलाई पर्यटन र उद्योगसँग जोड्नु पर्ने बताउनुहुन्छ ।

लोकेन्द्र बिष्ट माओवादी भूमिगत हुँदा सशस्त्र द्वन्द्वको समयमा बन्दुक बोकेरै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । २०६४ सालको निर्वाचनपछिको बनेको सरकारमा उहाँ पर्यटन मन्त्री बन्नु भयो ।

संसद भवनमा पेस्तोल बोकेरै प्रवेश गर्न खोज्दा पक्राउ पर्नु भएका विष्ट गणतन्त्रपछि बनेको पहिलो प्रचण्ड सरकारको पालामा शक्तिशाली मन्त्रीको रुपमा पनि चिनिनुहुन्थ्यो ।

राजनीतिमा लाग्दा पाएको भूमिगत बेलाको कठिन दुःख र खुला राजनीतिमा आएपछि मन्त्रीको झण्डा हल्लाउँदै सानले हिंड्नु भएको विष्ट अहिले पूरै राजनीति छोडेर कृषिमा तल्लिन हुनुहुन्छ ।

युवा विदेशिएर बाँझो बनेका जमिनमा ड्रागन फल फलाएर नमूना किसानको रुपमा लोकेन्द्र बिष्ट चिनिनु भएको छ । बिष्टको कर्म सर्वसाधारणका लागि मात्र होइन नेताहरुकै लागि पनि गतिलो र अनुकरणीय शिक्षा बनेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);