दाङको दंगीशरण गाउँपालिका वडा नम्बर ५ का जनप्रतिनिधी भ्रमणमा, सेवाग्राही मर्कामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८३, सोमबार

दाङको दंगीशरण गाउँपालिका वडा नम्बर ५ का जनप्रतिनिधी भ्रमणमा, सेवाग्राही मर्कामा

दाङ, १४ पुस । काठमाडाैंमा काम गर्ने दाङको दंगीशरण गाउँपालिका वडा नम्बर ५ का विष्णु लामिछाने अंसबन्डाको काम मिलाउन छोटो बिदा लिएर गाउँ पुग्नु भयो । काममा फर्कनुपर्ने दवावमा रहनु भएका लामिछाने वडा कार्यालयमा सिफारिस लिन पुग्दा भने निराश हुनुभयो ।

वडा कार्यालयका सबै जनप्रतिनिधी र कर्मचारी कृषी भ्रमणमा निस्किएका छन् । अव लामिछानेलाई काममा फर्केर फेरी सोहीकामका लागी गाउँ पुग्नु पर्ने भयो । लामिछाने जस्तै सोहि वडाकी सृजना केसी पनि ४ दिनसम्म नाता प्रमाणीत गर्न वडा कार्यालय धाउनु भयो तर काम भने भएन ।

यता कृषी भ्रमणका लागी टोलीको नेतृत्व गर्दै वडा छोड्नु भएका वडाध्यक्ष दिपक गौतम भने आफुले कार्यबाहक अध्यक्षको जिम्मा लिलावती परियारलाई दिएर आएकोले वडाबाट सेवा नरोकिएको दावी गर्नुहुन्छ ।

तर वडा अध्यक्षले कार्यबाहक दिनु भएको दलित महिला सदस्य लिलावती परियारले आफुलाई वडा कार्यालयको ढोका मात्र खोल्न भनि ताला चाबी दिएको बताउनुभयो।

वडाबाट हुने सबै काम रोकिएपछी गाउँपालिकाले एक महिला बिकासकी कर्मचारीलाई खटाएकोे छ । सबै तिरबाट गुनासो आएपछि गाउँपालिकाले एकजना कर्मचारी त पठायो तर कार्यसञ्चालनमा सचिव नहुँदाको समस्या भने उस्तै छ ।

संघीयताले स्थानीय तहलाई जनताका धेरै कामको अधिकार प्रदान गरेको छ । तर सेवाग्राहीलाई काममा झुलाएर जनप्रतिनिधी भ्रमणमा हिंड्दा भने सिंहदरवारको आभास गाउँ गाउँमा कसरी गर्ने प्रश्न उठेको छ ।