कालीगण्डकी कोरिडोर : बागलुङ-गुल्मी खण्डको ९ किलो मिटर सडक हस्तान्तरणको तयारीमा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कालीगण्डकी कोरिडोर : बागलुङ-गुल्मी खण्डको ९ किलो मिटर सडक हस्तान्तरणको तयारीमा

बागलुङ, २७ मंसिर । राष्ट्रिय गौरवको आयोजना मध्येको कालीगण्डकी कोरिडोरको बागलुङ–गुल्मी खण्डको ९ किलो मिटर सडक हस्तान्तरणको तयारी गरिएको छ ।

बागलुङ खण्डको मालढुंगादेखि बलेवा बिमानस्थलसम्मको सडक १० मिटर चौडा गर्ने कार्य सकिएसँगै आगामी पुस १ गते सडक विभागलाई हस्तान्तरण गर्ने तयारी गरिएको हो ।

बाग्लुङमा नेपाली सेनाले निर्माण जिम्मा लिएको ८० किमी करिडोरको ट्रयाक खुलाएपछि अहिले १० मिटर सडक चौडा गर्ने कार्य जारी रहेको छ ।

जसमध्येको मालढुंगादेखि बलेवा बिमानस्थलसम्मको सडक कालोपत्रेका लागि आगामी पुस १ गते सडक बिभागलाई हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको नेपाली सेनाको करिडोर निर्माण कार्यदलले जनाएको छ ।

यसले छिमेकी भारत र चीनलाई जोड्नेछ । बागलुङ गुल्मी सडकको ८० किलोमिटर सडकखण्ड आगामी असारभित्रै १० मिटर चौडा बनाउने गरी काम अघि बढाइएको छ ।

सरकारले यस करिडोरलाई राष्ट्रिय गौरवको योजनाको रुपमा प्राथमिकतामा राखेको छ । चालु आर्थिक बर्षमा सडक बिस्तारका लागि २५ करोड बजेट बिनियोजन गरिएको छ ।

यसबाट ५१ किलोमिटरको सेरोफेरोमा कडा चट्टान काट्नुपर्ने चुनौती रहेको छ जसका लागि विनियोजित बजेट पर्याप्त नभएको निर्माण कार्यदल प्रमुख रेश्मीराज भट्टराईले बताउनुभयो ।

यसअघि गुल्मी रिडीबाट रुद्रवेणीसम्मको ७ किलोमिटर सडक नेपाली सेनाले सडक बिभागलाई कालोपत्रेका लागि जिम्मा दिइसकेको छ । यद्यपी सडक बिभागलाई हस्तान्तरण गरिएको पाँच महिनाभन्दा बढी समय बितिसक्दा समेत काम अघि बढेको छैन ।

हाल कडा चट्टान फुटाउन बारुदको अभाव भएको छ । केन्द्रीय हेडक्वाटरमा माग गरिए पनि बारुद नआउँदा १८ सय बढी बम पड्काउनका लागि होल तयार गरेर राखिएको छ ।

हाल यो सडकको मालढुंगादेखि पालुङखोलासम्म बस र ट्रकसमेत चल्न थालेका छन् । करिडोर नजिकका स्थानीयबासीहरुले यस ठाउँमा यस्तो सडक आउने कल्पना समेत नगरेको बताउँछन् ।

बम समेत पड्काउनुपर्ने भएकाले सरकारले यो खण्डको काम सेनालाई दिएको थियो । गण्डकी प्रदेशको भारत सिमाना त्रिवेणीधामदेखि चीनको सिमाना कोरला नाकासम्म कोरिडोर ४ सय १७ किमिको हुनेछ ।

सबै खण्डमा ट्रयाक खुलिसकेको छ । मालढुंगादेखि गुल्मीको रिडीसम्मको खण्डमा सेनाले २०७० देखि काम गरिरहेको छ । २०७० को असारमा शिलान्यास गरेपछि सेनाले ८० किमि ट्रयाक खोलेको थियो ।

अत्यधिक पहरो र कडा चट्टान भएकाले सरकारले सेनालाई काम गर्ने जिम्मा दिएको थियो । यो खण्ड चौडा पारेर हस्तान्तरण भए लगत्तै सडक विभागले कालोपत्रेका लागि काम गर्नेछ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);